काठमाडौं । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा सबैभन्दा बढी राजस्व पेट्रोलियम पदार्थको आयातबाट सङ्कलन गरेको छ। यस अवधिमा पेट्रोलियम पदार्थको आयातबाट ३ अर्ब ८० करोड ५८ लाख ६४ हजार रुपैयाँ राजस्व संकलन भएको छ।
भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार यस अवधिमा पाँच किसिमका पेट्रोलियम पदार्थको कुल ११ हजार २८ किलो लिटर आयात भएको छ, जसको मूल्य ७ अर्ब ८४ करोड ४० लाख रुपैयाँ रहेको छ। पेट्रोलियम पदार्थले कार्यालयको कुल राजस्व संकलनको ५५.८० प्रतिशत हिस्सा ओगटेको छ।
त्यसैगरी, तयारी कपडाबाट ४.१४ प्रतिशत, यातायातका साधन तथा पार्टपुर्जाबाट ३.६८ प्रतिशत, तरकारीबाट ३.४० प्रतिशत र सिमेन्ट क्लिङ्करबाट ३.३० प्रतिशत राजस्व संकलन भएको छ।


