काठमाडौँ । कोका–कोला नेपालले आफ्नो बहुप्रतीक्षित फिफा वल्र्ड कप २०२६ अभियान औपचारिक रूपमा सुरु गरेको छ । यस अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा खेलकुद र मनोरञ्जन क्षेत्रका चर्चित व्यक्तित्वहरू सहभागी भएका बताइएको छ ।
कार्यक्रममा कोका–कोला नेपालको नयाँ ब्रान्ड एम्बासडर सार्वजनिक पनि गरिएको थियो । त्यस्तैगरी फिफा वल्र्ड कप २०२६ का स्टारहरू, अभियानसँग सम्बन्धित अडियो–भिजुअल सामग्री पनि प्रस्तुत गर्नुका साथै छिट्टै बजारमा आउने सीमित संस्करणका आधिकारिक कोका–कोला फिफा प्याकहरूको पहिलो झलक पनि देखाइएको जनाइएको छ ।
कार्यक्रममा बोल्दै बोतलर्स नेपालका प्रबन्ध निर्देशक अजय कोनालेले भने, “यो अभियान केवल फुटबलको उत्सव मात्र होइन, फिफाको विश्वव्यापी आकर्षणलाई नेपाली उपभोक्ताको जीवनसँग जोड्ने प्रयास पनि हो। विशेष कोका–कोला फिफा प्याक, रोमाञ्चक गतिविधि र विभिन्न सरप्राइजमार्फत हामी उपभोक्तालाई अविस्मरणीय अनुभव दिन चाहन्छौं । यसले ब्रान्डप्रतिको आकर्षण बढाउनुका साथै समर्थकहरूको खुशीका क्षणहरूमा कोका–कोलाको भूमिका अझ बलियो बनाउनेछ ।”
कार्यक्रमको मुख्य आकर्षणका रूपमा नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता प्रदीप खड्कालाई कोका–कोला नेपालको नयाँ ब्रान्ड एम्बासडर घोषणा गरिएको कम्पनीले बताएको छ । घोषणा पछि खड्काले कोका–कोला परिवारमा जोडिन पाउँदा खुसी व्यक्त गर्दै धन्यवाद दिएका थिए ।
त्यसैगरी अभियानका मुख्य अनुहारका रूपमा नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी अन्जल विष्ट र अन्जना राना मगर तथा अभिनेत्री स्वस्तिमा खड्का प्रस्तुत गरिएका थिए भने उनीहरूले स्टेजमा आफ्नो अनुभव र फुटबलले ल्याउने खुसीबारे आफ्नो धारणा व्यक्त गरेका थिए ।
कार्यक्रमको अन्त्यमा फिफा वल्र्ड कप २०२६ थिममा आधारित नयाँ प्याकेजिङ पनि सार्वजनिक गर्नुका साथै उक्त कार्यक्रममा कोका–कोलाको आधिकारिक गीत (एन्थेम), फिफा वल्र्ड कप टिभीसी र अन्य प्रचार सामग्री पनि प्रदर्शन गरिएको जनाइएको छ ।
कम्पनीका अनुसार कोका–कोला र फिफा बीचको सहकार्य विश्व खेलकुद इतिहासकै सबैभन्दा लामो साझेदारीमध्ये एक मानिन्छ । यो सम्बन्ध सन् १९७४ मा सुरु भई सन् १९७८ देखि फिफा वल्र्डकपको आधिकारिक प्रायोजकको रुपमा निरन्तर कायम छ भने जसले यसको विश्वव्यापी प्रभावलाई अझ बलियो बनाएको बताइएको छ । नेपालमा समेत यो ब्रान्ड पाँच दशक भन्दा बढी समयदेखि सक्रिय रहँदै आएको छ र नयाँ अभियानमार्फत विश्व फुटबल संस्कृतिलाई नेपाली दर्शकहरुको उत्साहसँग जोड्ने लक्ष्य राखिएको जनाइएको छ ।


