काठमाडौं । टेक्सटाइल स्क्रिप्ट्स, समकालीन लिथुआनियन टेक्सटाइल कला प्रदर्शनी १६ अप्रिल २०२६ मा आर्टुडियो पाटन विंग, ललितपुरमा उद्घाटन हुनेछ। यस प्रदर्शनीमा चार कलाकारहरूको सहभागिता रहेको छ भने लाइमा ओर्जेकाउस्किएने–ओरे, मोनिका झाल्टाउसकाइते ग्राशिएने–झाल्टे, लिना जोनिके, र गेर्दा लिद्भिनाविचिउते—जसका कलात्मक अभ्यासहरूले समकालीन कलामा टेक्सटाइलको सीमालाई विस्तार र पुनःपरिभाषित गर्ने बताइएको छ।
यस प्रदर्शनीकी क्युरेटर ओडेटा झुकाउस्किएने रहेकी छिन्। टेक्सटाइल स्क्रिप्ट्सले टेक्सटाइललाई केवल सामग्री वा हस्तकला नभई एक जीवित, संवेदनात्मक र वैचारिक भाषाको रूपमा पुनःकल्पना गर्छ भने जसको आफ्नै व्याकरण, लय र सक्रियता हुने जनाइएको छ। परम्परागत हस्तकलाको सीमाभन्दा बाहिर गएर यसले टेक्सटाइललाई सम्बन्धहरूको सक्रिय क्षेत्रको रूपमा प्रस्तुत गर्नुका साथै जहाँ सामग्री, गति र अर्थ निरन्तर अन्तरक्रियामा रहने आयोजकले बताएको छ ।
विविध प्रविधि र सामग्री अभ्यासमार्फत कलाकारहरूले टेक्सटाइलको बहुध्वनात्मक स्वरूपलाई उजागर गर्छन्। उनका कार्यहरूले लिथुआनियाको सांस्कृतिक स्मृति, मिथकीय कल्पना र पारिस्थितिक चेतनालाई समेट्दै, दैनिक जीवनका सूक्ष्म अनुभव र शारीरिक संवेदनासँग पनि संवाद गर्ने जनाइएको छ। प्रदर्शनी चार फरक तर आपसमा जोडिएका सूक्ष्म–आख्यानहरू मार्फत एक स्थानिक र संवादात्मक अनुभव निर्माण गर्ने बताइएको छ ।
आर्टुडियोद्वारा आयोजित यस प्रदर्शनीले नेपाललाई अन्तर्राष्ट्रिय समकालीन कला संवादमा स्थापित गर्ने निरन्तर प्रयासलाई प्रतिबिम्बित गर्छ भने उद्घाटन समारोहमा लिथुआनिया गणतन्त्रकी नेपालस्थित राजदूत माननीय डायना मिकेभिचिने को उपस्थिति रहनुका साथै,जसले लिथुआनिया र नेपालको सांस्कृतिक सहकार्यमा महत्वपूर्ण क्षणलाई चिन्हित गर्ने जनाइएको छ ।
टेक्सटाइल स्क्रिप्ट्स र्शीर्षकको प्रदर्शनी ललितपुर १६ स्थित आर्टुडियो (पाटन विंग ,नकबहिल) मा आयोजना हुने बताइएको छ । यो प्रदर्शनी १६ अप्रिल २०२६ साँझ ६ बजे उद्घाटन भई १७ अप्रिल देखि २३ अप्रिल २०२६ सम्म सञ्चालन हुनुका साथै प्रदर्शनी दैनिक बिहान ११ः०० बजेदेखि बेलुका ५ः३० बजेसम्म अवलोकन गर्न सकिनेछ ।
यस प्रदर्शनीलाई भिल्नियस एकेडेमी अफ आर्ट्ससँगको सहकार्यमा, लिथुआनियन कल्चर रिसर्च इन्स्टिच्युटको सहयोग तथा लिथुआनियन काउन्सिल फर कल्चरको आर्थिक सहयोगमा प्रस्तुत गरिएको जनाइएको छ।
आयोजकका अनुसार, टेक्सटाइल स्क्रिप्ट्स एक क्षेत्रीय प्रदर्शनी श्रृंखलाको हिस्सा हो, जुन काठमाडौंपछि द रोयल टेक्सटाइल एकेडेमी अफ भुटान, थिम्पु मा (२७ अप्रिल – ५ मे २०२६) यात्रा गर्नेछ।


