मेची राजमार्ग अवरुद्ध : यात्रु र बिरामी बीच बाटोमै अलपत्र
काठमाडौं । मेची राजमार्ग अन्तर्गत इलामको माईखोला खण्डमा सडकको ठूलो हिस्सा भासिएपछि यातायात सेवा पूर्णरूपमा ठप्प भएको छ । निरन्तरको वर्षा, कमजोर भू–बनोट तथा जमिनभित्रको आन्तरिक समस्याका कारण सडक भासिएर खोलामा बगेपछि पूर्वी पहाडी जिल्लाहरूको लाइफलाइन मानिने यो राजमार्ग बिहीबार बिहानबाट विच्छेद भएको हो ।
सडक भासिएर सवारी साधन वारपार गर्नै नमिल्ने भएपछि इलाम, पाँचथर र ताप्लेजुङलाई तराईसँग जोड्ने मुख्य मार्ग बन्द भएको छ । राजमार्ग ठप्प हुँदा दैनिक उपभोग्य सामग्री बोकेका मालवाहक सवारी साधन, बिरामी बोकेका एम्बुलेन्स र गन्तव्यतर्फ हिँडेका सयौँ यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् ।
तराईबाट पहाडतर्फ आउँदै गरेका गाडीहरू माइखोला बजार क्षेत्रमा र पहाडबाट झापातर्फ जाँदै गरेका गाडीहरू गोलाखर्क भञ्याङ क्षेत्रमै रोकिँदा यात्रुहरू हिँडेरै जोखिमपूर्ण बाटो पार गर्न बाध्य छन् ।
राजमार्ग अवरुद्ध हुँदा सबैभन्दा ठूलो मारमा बिरामी परेका छन् । पहाडी जिल्लाहरूमा सुविधासम्पन्न अस्पताल नहुँदा आकस्मिक उपचारका लागि झापा वा विराटनगर रेफर गरिएका बिरामीहरूलाई हिलो र जोखिमपूर्ण सडकमा स्ट्रेचरमा बोकेर लैजानुपर्ने बाध्यता आइलागेको छ ।
यसका साथै इलाम र पाँचथरका कृषकहरूले उत्पादन गरेको दूध तथा तरकारी जस्ता कुहिने सामानहरू बजारसम्म पुर्याउन नपाउँदा लाखौँको आर्थिक क्षति व्यहोर्नुपरेको स्थानीय व्यवसायीहरूले बताएका छन् । सडक डिभिजन कार्यालय इलाम र जिल्ला प्रशासन कार्यालयले अवरोध हटाउन स्काभेटर तथा आवश्यक जनशक्ति परिचालन गरे पनि निरन्तरको वर्षाका कारण काममा अवरोध पुगेको छ ।
सडक डिभिजनका अनुसार सडकको धेरै भाग खोलातर्फ खसेकाले पहिरो पन्छाएर मात्र तत्काल सडक सुचारु गर्न सम्भव छैन । खोलाको बगरबाटै ठूलो ग्याबियन पर्खाल उठाएर काम सम्पन्न भएपछि मात्रै दीर्घकालीन रूपमा सडक सञ्चालन गर्न सकिने अवस्था रहेको प्राविधिकहरूले जनाएका छन् ।
सम्बन्धित समाचार
सानिमा बैंकका दुई वरिष्ठ कर्मचारी थापा र ढकालको बढुवा
कलात्मक शैली र हाइब्रिड प्रविधिसहित यामाहा फ्यासिनो १२५ सार्वजनिक, मूल्य २.९९ लाखदेखि
हिमाली क्षेत्रबाहेक देशका अधिकांश भूभागमा घाम लाग्ने सम्भावना
गण्डकी प्रदेश लोकसेवाले माग्यो १९५ कर्मचारी, कुन पदमा कति जनाको माग ?
करार कर्मचारी र राहत तथा अस्थायी शिक्षकलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्ने सरकारको तयारी
नबिल एसएसईको पाँच वर्षमा ३१८ सामाजिक उद्यम स्थापना, १९ हजारभन्दा बढीलाई रोजगारीको अवसर
ट्रेन्डिङ
शाखा अधिकृत र नासु बन्न चाहने युवाका लागि तयारी कक्षा सुरु गर्ने सरकारको तयारी ,आवेदन प्रक्रिया सुरु
काठमाडौँ महानगरले टुर अपरेटर र केयरगिभर तालिम सञ्चालन गर्ने ,आवेदन खुल्ला
मात्र ९.९९ लाखमै फ्ल्यागसिप जीएसी आयोन भी घर लैजान सकिने, ११ वर्षको वारेन्टीसहित विशेष योजना सार्वजनिक
स्वास्थ्य बिमाको उपचार सेवा अब मोबाइलमा डिजिटल कार्ड देखाएरै लिन सकिने
सुनचाँदीको मूल्यमा वृद्धि, नेपाली बजारमा आज कति पुग्यो भाउ ?
