काठमाडौं । गत जुन महिना १२२ वर्षयताकै पाँचौं सबैभन्दा सुख्खाग्रस्त रहेको खुलासा भएको छ, गत महिनामा ४० प्रतिशत भन्दा कम बर्षा भएको छ । दक्षिण एसियाको मध्य भारतमा ५० प्रतिशतभन्दा बढी भू–भागमा खडेरी देखिएको छ।
सङ्गठनको चेतावनी दिए पछि अहिले विश्वभर नयाँ बहस सुरू भएको छ। यद्यपि, यो विश्वव्यापी सङ्कटका बीच अमेरिकी वैज्ञानिकहरूले एउटा अनौठो योजना तयार पारेका छन्।
‘साइन्स एडभान्सेज’ नामक जर्नलमा प्रकाशित युनिभर्सिटी अफ क्यालिफोर्निया र स्क्रिप्स इन्स्टिच्युसन अफ ओसनोग्राफीका वैज्ञानिक क्याथरिन रिकेको नयाँ अनुसन्धान अनुसार समुद्री पानीको फोहरा प्रयोग गरी महासागरमाथि रहेका बादलहरूलाई अझ चम्किलो बनाएर पृथ्वीमा आइपुग्ने सूर्यको प्रकाशलाई कम गर्न सकिन्छ। यसो गर्नाले ‘एल निनो’का कारण हुने अत्यधिक गर्मी र मौसमसम्बन्धी विनाशलाई रोक्न मद्दत पुग्न सक्छ।
वैज्ञानिकहरूका अनुसार ‘मरिन क्लाउड ब्राइटेनिङ’ भनिने यो प्रविधिले तीव्र सूर्यको प्रकाशलाई अन्तरिक्ष तिरै फर्काउन सक्छ। यसले प्रशान्त महासागरको पानीलाई चिसो बनाउनेछ। फलस्वरूप ‘एल निनो’ले अत्यधिक शक्ति सञ्चय गर्न पाउने छैन र यसका प्रतिकूल असरहरूबाट बच्न सकिने सुझाव उनीहरूले जर्नलमा उल्लेख गरेका छन ।
सन् २०१९–२०२० मा अष्ट्रेलियाभरि भीषण डढेलो फैलियो। ती डढेलोबाट निस्किएको लाखौं टन धुवाँले वैज्ञानिकहरूलाई एउटा नयाँ उपायबारे सोच्न प्रेरित गर्यो। उक्त धुवाँले आकाशमा बाक्लो तह बनायो, जसले सूर्यको प्रकाशलाई छेकेर ‘ला निना’ अर्थात एल निनोको विपरीत चिसो अवस्थाजस्तै परिस्थिति सिर्जना गरेको थियो । यसै घटनाका आधारमा वैज्ञानिकहरूले एउटा कम्प्युटर मोडेल तयार पारे, उक्त मोडेलले पृथ्वीमा आइपुग्ने सूर्यको प्रकाशको मात्रालाई सीमित गरेर एल निनोको प्रभावलाई उल्लेख्य रूपमा कम गर्न सकिने कुरा देखायो।
यो दृष्टिकोण जति आकर्षक सुनिन्छ, यसको कार्यान्वयन त्यति नै चुनौतीपूर्ण छ। टेक्सास ए एन्ड एम विश्वविद्यालयका प्राध्यापक एन्ड्र्यू डेस्लरका अनुसार मौसममा कृत्रिम हस्तक्षेप गर्नु खतरनाक हुन सक्छ। वैज्ञानिकहरूलाई यो प्रविधिमा कुनै गडबडी भएमा त्यसले गम्भीर राजनीतिक सङ्कट वा राष्ट्रहरू बीच युद्धसमेत निम्त्याउन सक्ने डर छ। साथै, अनुसन्धानकर्ताहरूका अनुसार यस अवधारणालाई वास्तविक धरातलमा प्रयोग गर्नुअघि अझै धेरै वर्षको अनुसन्धान र परीक्षण आवश्यक पर्छ।
‘एल निनो’ वास्तवमा ‘एल निनो साउदर्न ओसिलेशनं’ भनिने जलवायु प्रणालीको एक हिस्सा हो। यसका अन्य चरणहरूमा ‘ला निनो’ अर्थात जसले मौसमलाई चिसो बनाउँछ र तटस्थ चरण पर्दछन्। केही वर्षको अन्तरालमा प्रशान्त महासागरमा चल्ने हावाहरू कमजोर हुन्छन्। यसका कारण महासागरमा सञ्चित ताप दक्षिण अमेरिकाको तटतिर सर्छ।
यस तापले सम्पूर्ण विश्वको वायुमण्डलीय प्रणालीलाई खलबल्याउँछ, जसका कारण कतिपय क्षेत्रमा भीषण खडेरी पर्छ भने अन्य क्षेत्रमा बाढी आउँछ। यसमा जीवाश्म इन्धनबाट हुने प्रदूषणको कारकलाई पनि जोड्दा ‘एल निनो’ ले विश्वलाई अर्बौं डलर बराबरको आर्थिक क्षति पुर्याउँछ।


