नयाँदिल्ली । चिनियाँ उत्पादनहरूप्रति भारतवा भारतीयहरूको आकर्षण कति छ भन्ने कुरा यस तथ्यबाट अनुमान लगाउन सकिन्छ कि सन् २०२६ को पहिलो ६ महिनामै देशमा कीर्तिमानी परिमाणमा चिनियाँ सामानहरू आयात गरिएका छन ।
यसको विपरीत भारतवाट निर्यात भने उक्त परिमाणको आधाभन्दा पनि कम थियो। यी कीर्तिमानी तथ्याङ्कहरूले भारतमा चिनियाँ उत्पादनहरूको अत्यधिक माग रहेको कुरालाई उजागर गर्छन्।
सन् २०२६ को पहिलो ६ महिनामा विशेष गरी जनवरीदेखि जुनसम्म दुई देशबीचको कुल व्यापार ९१.७२ अर्ब डलर पुग्यो, जुन अघिल्लो वर्षको तुलनामा २३.६ प्रतिशतको वृद्धि हो। यस अवधिमा चीनतर्फ भारतको निर्यात पनि ३७.२ प्रतिशतले बढेर १२.३१ अर्ब डलर पुग्यो। यद्यपि, आयातको तुलनामा निर्यात भने निकै कम रहेको छ।
निर्यातमा वृद्धि भए तापनि चीनसँगको भारतको व्यापार घाटा बढेर करिब ६७.१ अर्ब डलर पुगेको छ। यसको अर्थ भारतले चीनलाई बिक्री गरेका वस्तुहरूको मूल्य चीनबाट खरिद गरिएका वस्तुहरूको मूल्यभन्दा निकै कम थियो, जसका कारण व्यापार घाटा निरन्तर बढिरहेको छ।
भारतले चीनबाट तयार वस्तुहरू मात्र नभई इलेक्ट्रोनिक्स, मेसिनरी, औद्योगिक उपकरण, रसायन र विभिन्न पाटपुर्जाहरू पनि ठूलो परिमाणमा आयात गरिरहेको छ । यी सामग्रीहरू मोबाइल उत्पादन, औषधि उद्योग, नवीकरणीय ऊर्जा र इन्जिनियरिङजस्ता क्षेत्रमा प्रयोग गरिन्छन्। फलस्वरूप, चीनबाट हुने आयात निरन्तर बढिरहेको छ।
भारतले मुख्यतया चीनबाट इलेक्ट्रोनिक्स र औद्योगिक सामग्रीहरू आयात गर्छ। यसमा दूरसञ्चार उपकरण, स्मार्टफोन तथा तिनका पाटपुर्जा, सेमीकन्डक्टर (चिप), लिथियम आयन ब्याट्री, चार्जर, सर्भर, केबल, औद्योगिक मेसिनरी, कम्प्युटर, अर्गानिक रसायन, प्लास्टिक र पोलिमरजस्ता उत्पादनहरू समावेश छन्।
यसैबीच, भारतले चीनमा खनिज तथा खनिज अयस्क, पेट्रोलियम पदार्थ, जैविक रसायन, विद्युतीय सामग्री, कृषि तथा समुद्री उत्पादन, धातु तथा धातुजन्य वस्तु, हीरा, रत्न तथा गरगहनाका साथै औषधि र सम्बन्धित उत्पादनहरू निर्यात गर्दछ।


