अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
काठमाडौं । प्रतिष्ठित व्यापारिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डिस्ट्रिज एन्ड ट्रेडिङ हाउसका अध्यक्ष सुरज वैद्य अवैतनिक वाणिज्यदूतहरूको संगठन अनररी कन्सुलर कर्प्स नेपाल (एचसीसीएन)को डीनमा निर्विरोध निर्वाचित भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष वैद्य फिलिपिन्सका अवैतनिक वाणिज्यदूत हुन्। काठमाडौंमा सम्पन्न एचसीसीएनको साधारणसभाले वैद्यलाई नयाँ डीनमा सर्वसम्मत चयन गरेको हो। यसअघि बुल्गेरियाका लागि नेपालस्थित भोला थापा यसको डीन थिए। सम्मेलनले एचसीसीएनको भाइस डीनमा पासाङ दावा शेर्पालाई चयन गरेको छ।
नेपालको औद्योगिक क्षेत्रमा लामो योगदान र अनुभव बटुलेका वैद्यको ६ दशक भन्दा पुरानो व्यापारीक घराना वैद्य अर्गनाइजेशन टोयोटा गाडीको आधिकारीक विक्रेताको रुपमा लामो समयदेखि रहदै आएको छ। योसँगै ग्रुपले अटोसँगै सिमेन्ट, हस्पिटालिटी क्षेत्रमा लगानी विस्तार गरिरहेको छ। नवनियुक्त डिन वैद्यले नेपालमा वैदेशिक प्रत्यक्ष लगानी (एफडीआई) भित्र्याउने, पर्यटन प्रवद्र्धन गर्ने र आर्थिक कूटनीतिलाई सुदृढ बनाउने कार्यलाई आफ्नो कार्यकालको मुख्य प्राथमिकता बनाउने बताएका छन्।

डिनको जिम्मेवारी सम्हालेपछि बिहीबार जारी गरेको प्रेस वक्तव्यमा वैद्यले नेपाल र अन्तर्राष्ट्रिय समुदायबीचको सम्बन्धलाई अझ प्रभावकारी बनाउँदै आर्थिक सहकार्य विस्तार गर्न सक्रिय रूपमा अघि बढ्ने बताएका हुन्। उनले एचसीसीएनले हाल विश्वका ६४ भन्दा बढी मुलुकको प्रतिनिधित्व गरिरहेको उल्लेख गर्दै ती राष्ट्रहरूले विश्व अर्थतन्त्र, अन्तर्राष्ट्रिय व्यापार, प्रविधि, नवप्रवर्तन, पर्यटन तथा लगानीमा महत्वपूर्ण योगदान र्पुयाइरहेको बताए।
पाँच अर्बभन्दा बढी जनसंख्या र १०० ट्रिलियन अमेरिकी डलरभन्दा बढीको संयुक्त आर्थिक आकार भएका ती मुलुकहरूसँग नेपालको सम्बन्ध विस्तार गर्नु आर्थिक विकासका लागि महत्वपूर्ण अवसर भएको उनको भनाइ छ।
वैद्यले नेपालले लगानी आकर्षित गर्ने, रोजगारी सिर्जना गर्ने, पर्यटन विस्तार गर्ने र अन्तर्राष्ट्रिय व्यापार बढाउने लक्ष्य लिएको वर्तमान अवस्थामा आर्थिक कूटनीतिको महत्व झनै बढेको बताए। मानार्थ वाणिज्यदूतहरूले सरकार–सरकारबीच मात्र नभई निजी क्षेत्र, लगानीकर्ता, उद्यमी, शैक्षिक संस्था र समुदायबीच सहकार्य विस्तार गर्ने सेतुको भूमिका निर्वाह गर्ने उनले उल्लेख गरे।

उनका अनुसार, आफ्नो कार्यकालमा एचसीसीएनले नेपाल सरकार, सम्बन्धित मन्त्रालय, संवैधानिक निकाय तथा निजी क्षेत्रसँग सहकार्य गर्दै सदस्यहरूले प्रतिनिधित्व गर्ने मुलुकहरूसँगको सम्बन्धलाई अझ गहिरो बनाउनेछ। त्यसमार्फत गुणस्तरीय विदेशी लगानी भित्र्याउने, पर्यटन प्रवद्र्धन गर्ने, प्रविधि तथा ज्ञान हस्तान्तरणलाई प्रोत्साहन गर्ने, व्यापार र बजार पहुँच विस्तार गर्ने तथा शैक्षिक र सांस्कृतिक आदान–प्रदानलाई थप सशक्त बनाउने लक्ष्य लिइनेछ ।
वैद्यले नेपालको दिगो विकासका लागि सरकार, निजी क्षेत्र, कूटनीतिक समुदाय र नागरिक समाजबीचको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै एचसीसीएनलेआफ्नो अन्तर्राष्ट्रिय सञ्जाल, अनुभव र सद्भावलाई नेपालको दीर्घकालीन विकास प्राथमिकता र विश्वव्यापी आकांक्षाको पक्षमा परिचालन गर्न तयार रहेको बताए।

उनले नेपालस्थित कूटनीतिक समुदाय, विकास साझेदार, व्यवसायिक नेतृत्व तथा अन्य सरोकारवालासँग मिलेर नेपालको अन्तर्राष्ट्रिय छवि थप मजबुत बनाउने, नयाँ आर्थिक सहकार्यका अवसर सिर्जना गर्ने र विश्वसँग अझ मजबुत रूपमा जोडिएको समृद्ध नेपालको निर्माणमा योगदान दिने प्रतिबद्धता व्यक्त गरे ।

सम्बन्धित समाचार
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
आकाशिँदै सुनको भाउ, तोलामा ३ लाख ५ हजार ४ सय
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
विपद् व्यवस्थापनमा नेपाल र नेशनल मेडिकल कलेजको ७५ लाख सहयोग
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

