Jankari Kendra
१२ भाद्र २०८३, शुक्रबार
Worldlink

१८ अर्ब डलरको सम्झौतापछि मेटाले फेर्दै फेसबुक–इन्स्टाग्रामका फिचर

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, भाद्र, १२
१८ अर्ब डलरको सम्झौतापछि मेटाले फेर्दै फेसबुक–इन्स्टाग्रामका फिचर

काठमाडौं। बालबालिकालाई जोखिममा पारेको आरोप लागेको अमेरिकी संघीय मुद्दामा सामाजिक सञ्जालको दिग्गज कम्पनी मेटा १८ अर्ब डलरको ऐतिहासिक सम्झौता गर्न सहमत भएको छ।

यस सम्झौताका सर्तअनुसार कम्पनी आफ्ना लोकप्रिय प्लेटफर्महरू इन्स्टाग्राम र फेसबुकमा नयाँ तथा कडा सुरक्षा सुविधाहरू लागू गर्न बाध्य हुनेछ।

यस वर्ष मेटाले आफूविरुद्ध परेका थुप्रै कानुनी मुद्दाहरूको सामना गरिरहेको छ। तीमध्ये अधिकांश मुद्दामा कम्पनीले आफ्ना प्लेटफर्महरू जानाजानी लत बसाउने किसिमले डिजाइन गरेको र तिनले बालबालिकाको मानसिक तथा शारीरिक स्वास्थ्यमा हानि पुर्‍याएको दाबी गरिएको छ। कम्पनीले यस अघि नै दुईवटा मुद्दा हारिसकेको छ भने क्षतिपूर्ति समेत तिर्न बाध्य भएको छ।

बुधबार अमेरिकाका ४८ राज्यहरूसँग भएको यस सम्झौताअन्तर्गत १८ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताहरूका फेसबुक र इन्स्टाग्राम खातामा व्यापक परिवर्तन गरिने भएको छ। जसअनुसार रात्रिकालीन समयमा प्रयोगमा रोक अर्थात नाइट कर्फ्यू देखि लिएर दैनिक दुई घण्टाको प्रयोग सीमा अर्थात स्क्रीन टाइम लिमिट सम्मका नियमहरू मेटाले अनिवार्य रूपमा कार्यान्वयन गर्नुपर्नेछ।

यस सम्झौताको प्रभाव विश्वव्यापी रूपमा पर्न सक्ने अनुमान गरिएको छ, किनभने विश्वका धेरै देशहरूले मेटा र अन्य सामाजिक सञ्जाल कम्पनीहरू माथि पहिले नै नियमनकारी कदम चालिरहेका छन्।

क्यालिफोर्नियाको पुनरावेदन अदालतमा दर्ता भएको विवरणअनुसार अमेरिकाका २९ वटा राज्यले मेटाविरुद्ध संयुक्त रूपमा मुद्दा दायर गरेका हुन्। उनीहरूले मेटामाथि प्लेटफर्महरूलाई लत बसाल्ने खालको व्यवहार बढावा दिने गरी डिजाइन गरेको, उमेर प्रमाणीकरण गर्न असफल भएको, किशोर किशोरीलाई अभिभावकीय नियन्त्रण छल्न प्रेरित गरेको तथा हानिकारक एवं शोषणमूलक सामग्री विरुद्ध पर्याप्त सुरक्षा नअपनाएको गम्भीर आरोप लगाएका छन्।

सन् २०२३ मा प्रविधि क्षेत्रको दिग्गज कम्पनी मेटा विरुद्ध संघीय मुद्दा दायर गर्ने सुरुवाती चार अमेरिकी राज्यहरू क्यालिफोर्निया, केन्टकी, कोलोराडो र न्यु जर्सीले क्यालिफोर्नियाको संघीय अदालतमा आफ्नो मुद्दाको सुनुवाइ प्रक्रिया अघि बढाएका थिए ।

अदालतमा मुद्दा दायर गर्ने महान्यायाधिवक्ताहरूले मेटाका प्लेटफर्महरू अर्थात फेसबुक र इन्स्टाग्राममा युवा प्रयोगकर्ताहरूको सुरक्षा सुनिश्चित गर्न व्यापक सुधारको माग गरेका छन्। उनीहरूले मुख्य गरी देहायबमोजिमका कदम चाल्न अदालतसँग आदेश मागेका छन्ः

१.अभिभावकीय प्रमाणीकरणः किशोर प्रयोगकर्ताहरूका लागि अभिभावकको स्वीकृति अनिवार्य गर्ने।
२.एल्गोरिदममा परिवर्तनः मस्तिष्कमा आनन्दको रसायन बढाउने (डोपामाइन/मनिपुलेटिङ) र लत बसाल्ने खालका एल्गोरिदमहरू सच्याउने।
३.इमेज फिल्टर हटाउनेः व्यक्तिगत तस्बिरहरूका लागि प्रयोग हुने भर्चुअल इमेज फिल्टरहरू बन्द गर्ने।
४.खाता नियन्त्रणः एउटै व्यक्तिले धेरै खाताहरू खोल्ने प्रक्रियामा रोक लगाउने।
५.गायब हुने सन्देशमा रोकः आफैं हराउने सन्देश तथा पोस्टहरूको सुविधा बन्द गर्ने।

यसैगरी, मेटामाथि १३ वर्षभन्दा कम उमेरका बालबालिकाको व्यक्तिगत विवरण उनीहरूका अभिभावकको अनुमतिबिना संकलन, भण्डारण र प्रयोग गरी ुबालबालिकाको अनलाइन गोपनीयता संरक्षण ऐनको गम्भीर उल्लंघन गरेको आरोप मेटा माथी लगाइएको थियो, जुन अब सच्चाइने दिशामा अघि बढेको छ।

Top Changing Nepal

युट्युब सट्स