काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले जेठ २० गते शुक्रबारदेखि निष्काशन गरेको शेयर आज बाँडफाँट हुने जनाइएको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल प्रिअलटमेन्टको काम सकाएर शेयर बाँडफाँट गर्ने तयारी भएको हो । सानिमा क्यापिटलका अनुसार क्यापिटलको कार्यलय नक्सालमा आज असार ३ गते अपराह्न ३ बजे बाँडफाँट गरिनेछ ।
यसैगरी, पछिल्लो तथ्यांक अनुसार कम्पनीको आईपीओ १८ लाख ४५ हजार ६७ जना आवेदकबाट २ अर्ब १९ करोड ३५ लाख १ हजार रुपैयाँ बराबरको २ करोड १९ लाख ३५ हजार १० कित्ता शेयरको लागि आवेदन परेको थियो । जुन सर्वसाधारणलाई निष्काशनमा ल्याएको १३ लाख ६५ हजार कित्ता शेयरको १६.०७ गुणा बढी हो ।
उक्त कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका १५ लाख कित्ता साधारण शेयर निष्काशन गरेको थियो । जसमध्ये ४ प्रतिशत अर्थात ६० हजार कित्ता शेयर कर्मचारीका लागि सुरक्षित छ भने ५ प्रतिशत अर्थात ७५ हजार कित्ता शेयर सामूहिक लगानी कोषको लागि रहेको छ । बाँकी १३ लाख ६५ हजार कित्ताका शेयर मात्रै सर्वसाधारणको लागि बाँडफाँड गरिनेछ ।
आईपीओमा मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट न्यूनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ । जहाँ १ लाख ३६ हजार ५ सयले मात्र १० कित्ता शेयर पाउनेछन् ।