काठमाडौं । पछिल्ला पाँच वर्षमा नेपालको ऊर्जा क्षेत्रका गुणस्तरीय परिवर्तन भएसँगै हाल नेपाल विद्युत् प्राधिकरणले बिजुली बेचेर एक महिनामा १ अर्ब ७२ करोड नाफा कमाइरहेको छ ।
पछिल्ला आर्थिक वर्षमा सरकारी संस्थानमध्ये सबैभन्दा बढी नाफा कमाउने संस्थानका रूपमा प्राधिकरण रहेको छ ।रुग्ण अवस्थामा रहेका आयोजना एकपछि अर्को गर्दै निर्माण सम्पन्न भए । ठूला क्षमताका प्रसारण लाइन पनि निर्माण सम्पन्न भए । झण्डै रु ३५ अर्ब बराबरको सञ्चित घाटा भएको प्राधिकरणको मुनाफामात्रै वार्षिक रु १२ अर्ब बढी हुन थाल्यो ।
प्राधिकरण अब योजनाबद्धरूपमा बिजुली निर्यात गर्ने अवस्थामा पुगेको छ । गत वर्षको लक्ष्मी पूजाको दिनदेखि ३९ मेगावाट बिजुली भारत पठाएर व्यापार सुरु गरेको प्राधिकरणले गत जेठ १९ अर्थात् जुन २ तारिखदेखि दैनिक ३६४ मेगावाट बराबरको बिजुली भारत निर्यात गरेको हो ।
भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा प्राधिकरणले खुद रु १ अर्ब ७२ करोड ३० लाख बराबरको विद्युत बिक्री गरेको छ । जुन पछिल्लो एक महिनाको विवरण हो यो । प्राधिकरणले आगामी छ महिनासम्म बिजुली बिक्री गर्ने जनाइएको छ ।
अतिरिक्त भएको वर्षायामको विद्युत् गत १९ जेठदेखि आइएक्समा बिक्री गरेको थियो । सुरुमा दुईवटा विद्युतगृहको ३९ मेगावाट विद्युत् दैनिकरूपमा आइएक्समा बिक्री गरिएको थियो । त्यसपछि २७ जेठदेखि दैनिकरूपमा ३६४ मेगावाट विद्युत् भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री हुँदै आएको छ ।