काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई पनि सरकारमा सहभागी गराउन प्रधानमन्त्री शेरबहादुर देउवाको तयारी रहेको छ ।
सरकारले संसदबाट नागरिकता ऐन पारित गराएपछि सरकारमा जाने भएको लोसपाले सरकारमा सहभागी हुन कम्तीमा दुई मन्त्रालयको माग गरेको छ । साथै, एक थम राज्यमन्त्रीको पनि माग रहेको जनाइएको छ ।
सरकारमा सहभागी हुने सैद्धान्तिक सहमति बनेको जानकारी लोसपा अध्यक्ष महन्थ ठाकुर निकट स्रोतले दिएको छ । त्यस्तै, लोसपाले सरकारमा जानका लागि नागरिकता विधेयक पारित, कार्यकर्तालाई लगाइएको झुटा मुद्धा फिर्ता लगायतको शर्त राखेको थियो । महोत्तरी र कैलालीको टीकापुरमा लोसपाका नेता कार्यकर्तालाई झुटा मुद्धा लगाएर थुनामा रहेको र सर्वोच्चमा विचाराधीन रहेकालाई केही गर्न नसकिने स्रोतले जनाएको छ । फिर्ता लिन सकिने मुद्धाहरुका बारेमा प्रधानमन्त्रीसँग छलफल भइरहेको जनाइएको छ ।
लोसपाका नेताहरुले लोसपा सरकारमा सहभागी हुने कुरा प्रधानमन्त्री देउवाको सक्रियतामा भर पर्ने पनि बताएका छन् ।