काठमाडौं । सल्यानमा जंगली च्याउ खाँदा एक बालिकाको मृत्यु भएको छ । शारदा नगरपालिका ४ साइलाकम्दकी ४ वर्षीया जोशना बस्नेतको उपचारको क्रममा मृत्यु भएको हो ।
प्रादेशिक अस्पताल सुर्खेतमा उपचारका क्रममा शनिबार दिउँसो साढे १२ बजेतिर बालिकाको मृत्यु भएको हो । उनको जिल्ला अस्पताल सल्यानमा उपचार सम्भव नभएपछि शनिबार बिहान सवा ७ बजेतिर प्रादेशिक अस्पताल सुर्खेतमा रिफर गरिएको थियो ।
शुक्रबार बेलुका जंगलबाट च्याउ घरमा ल्याइ पकाएर खाएका मध्ये ४० वर्षीया मिना बस्नेत, उनकी छोरी २५ वर्षीया पबित्रा बस्नेत, सोही ठाउँका केशर बस्नेत र उनका ९ वर्षीय छोरा जोन बस्नेत बिरामी छन् ।
मृतक बालिका पनि केशरकी छोरी हुन् । जंगली च्याउको तरकारी खाएका उनीहरू बिरामी परेपनि शनिबार बिहान ६ बजेतिर मात्रै जिल्ला अस्पताल सल्यानमा उपचारका लागि लगिएको थियो ।
जोन बस्नेत र जोशना बस्नेतलाई थप उपचारका लागि सुर्खेत रिफर गरिएको थियो । जसमध्ये जोशनाको मृत्यु भइसकेको छ । जोनको भने सुर्खेतमा उपचार जारी छ । त्यस्तै बिरामी मध्ये मिना बस्नेत र पबित्रा बस्नेतलाई थप उपचारका लागि नेपालगंज रिफर गरिएको छ ।
सल्यान बनगाड कुपिण्डे नगरपालिका ९ जैतपानीका ४८ वर्षीया भुपबहादुर वली, उनकी ४५ वर्षीया श्रीमती मनकली वली, २३ वर्षीय छोरा प्रकाश वली, २१ वर्षीया बुहारी सुशिला वली पनि जंगलबाट ल्याएर च्याउ खाँदा बिरामी हुन् ।
बिरामी भएपछि शुक्रबार राति सवा ९ बजेतिर जिल्ला अस्पताल सल्यानमा पुर्याइएका उनीहरू थप उपचारका लागि तत्कालै प्रादेशिक अस्पताल सुर्खेत रिफर गरी उपचार भइरहेको छ ।





