पहिरोको चपेटामा रामतोला बस्ती
काठमाडौँ । बागलुङ नगरपालिका–११ रायडाँडाको तल्लो रामतोला बस्तीका घर, खरबारी र सुन्तलाको बगानमा समेत चिरा पर्दै पहिरो खसेको छ । पहिराले ११ घरका बासिन्दा सात दिनदेखि घरमा बस्न सकेका छैनन् । घरमाथि पहिरो थुप्रिएर बसेको छ भने घरको आँगन चिरिएको छ । केही घरगोठ बगेका छन् भने केही चिरा परेका छन् । पहिराले बग्ने डरले अधिकांश घरका बासिन्दाले घर खाली गरेर अन्यत्र सरेर बसेका हुन् ।
डाँडै पहिरो खसेपछि जोखिममा परेको बागलुङ नगरपालिका–११ को रायडाँडास्थित रामतोलामा नगरप्रमुख र उपप्रमुखसहित सुरक्षा निकाय पुगेका छन् । एक साताअघि खसेको पहिरो अनुगमन गरेर बस्तीको सुरक्षाबारे टोलीले योजना बनाउने बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले बताए । पहिरोले रामतोलाको गैराघर भन्ने स्थानमा एक दर्जन घर जोखिममा परेका छन् ।
पहिराले रामतोलाको बस्तीमा जोखिम पर्नुका साथै खानेपानी र विद्युत्का पोल पनि बगाएको छ । “पानीका दुईवटा ट्याङ्की नै बगेकाले खानेपानीको हाहाकार छ”, स्थानीय ढालनाथ शर्माले भने, “हामी त घर न घाटको भएका छौँ, अब कहाँ बस्ने, के खाने रु”
उनले दुःख गरेर बनाएको घरगोठ भत्केपछि नयाँ बनाउने चिन्ताले सताएको बताए । उनले अनुगमन टोलीसँग पनि रुँदै आफ्नो दुःखेसो पोखे । जिल्ला दैवीप्रकोप उद्धार समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी रमेश ढकालले पनि पहिरो अनुगमन गरेका छन् । टोलीमा समितिका अन्य पदाधिकारी तथा सुरक्षा प्रमुखहरू थिए । पहिराले दुईवटा खानेपानीका ट्याङ्की बगाएपछि सात दिनदेखि तल्लो रामतोला बस्तीमा खानेपानीको अभाव भएको हो । बिजुली नभएपछि स्थानीयले झाडी फाँडेर नयाँ पोल गाड्ने र तार टाँग्ने काम गरिरहेका छन् ।
यहाँका दर्जनौँ विद्युत्का पोल ढलेकाले जतासुकै तार लत्रेको देख्न सकिन्छ । तल्लो रामतोला सातादेखि अन्धकार रहेको स्थानीय नन्दकली केसीले बताए । “अहिले टोली आएको छ भनेर घरमा आइयो, नत्र हामी गाउँ छाडेर बसेका छौँ”, उनले भने, “अनुगमन आएका टोली देख्दा रमाइलो लाग्यो, नत्र रित्तो घरमा आउन मनै लाग्दैन ।” रायडाँडाको तल्लो रामतोला बस्तीका घर, खरबारी र सुन्तलाको बगानमा समेत चिरा पर्दै पहिरो खसेको थियो । पहिराले ११ घरका बासिन्दा सातादेखि घरमा बस्न सकेका छैनन् । केही घरगोठ बगेका छन् भने केही चिरा परेका छन् । पहिराले बग्ने डरले अधिकांश घरका बासिन्दाले घर खाली गरेर अन्यत्र सरेर बसेका हुन् ।
दशकअघि खुलेको सडकको ट्रयाक र खरबारीमा रहेका पानीका ट्याङ्कीबाट रसाएको पानीले पहिरो खसेको स्थानीयले अनुमान गरेका छन् । अनुगमन टोलीले पनि पानीकै कारण पहिरो खसेर बगेको अनुमान लगाएका छन् । सातापछि पुग्दा पनि पहिरो निरन्तर खसेको छ । निरन्तर खसेकोले आसपासमा पुग्न पनि जोखिम छ ।
पहिराले जैमिनी नगरपालिका–१ को ओडारका घरमा पनि जोखिम बनाएको छ । नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बस्तीलाई सुरक्षित स्थानमा राख्न सके राम्रो हुने बताए । प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले एकीकृत बस्तीको अवधारणा ल्याएर बस्ती सार्न सके राम्रो हुने धारणा राखेका छन् । यसका लागि पहल गर्न उनले वडाध्यक्षलाई आग्रह गरेको बताए । एकीकृत बस्ती बनाउन सकेमा खानेपानी, विद्युत् र अन्य सेवा जडानमा सहज हुने जनाइएको छ ।
निरन्तर पहिरो खसिरहेकाले उक्त बस्तीमा सहजै बस्न सकिने अवस्था छैन । पहिरो नियन्त्रण गर्ने अवस्था नभएको प्राविधिकको सुझाव छ । “पहिरो नियन्त्रणमा लाग्नुभन्दा बस्ती नै सार्दा सजिलो र सुरक्षित होला”, इञ्जीनियर त्रिलोचन गिरीले भने, “यो पहिराले माथिल्लो बस्तीमा पनि जोखिम बढाएको छ ।” पानी परेमा पहिरो झनै बढ्न सक्ने उनले बताए । विस्तारै खसेकाले समयमा घरपरिवार सार्न सकिए पनि पुनः घर फर्कने वातावरण बनाउन कठिन हुने उनले बताए । “सात–आठ घर त पहिरो खस्दा खस्दै सार्न लगायौँ, उनीहरु अहिले सुरक्षित स्थान खोजेर बसेका छन्”,उनले भने, “पहिराले निरन्तर दबाब दिएर बस्तीमा चिरा परेको छ ।” रासस
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
