बडा दसैँमा प्रदर्शनमा आउने चलचित्र
काठमाडौँ । दसैँ प्रायजसो सामान्य चलचित्रले पनि धेरै व्यापार गर्ने समयलाई बुझिन्छ । त्यसैअनुरुप यस वर्षको दसैँमा तीनवटा चलचित्र प्रदर्शन गरिने भएका छन् । कोरोना सङ्क्रमणको महामारी अगाडि नै बनेको चलचित्र ‘प्रेम गीत ३’ दसैँको अबसर पारेर आजदेखि प्रदर्शन गरिँदै छ । छेतेन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशन रहेको यो चलचित्र विगतको बन्दाबन्दीका कारण प्रदर्शन हुन सकेको थिएन । यो चलचित्र नेपाल र भारतमा पनि एकसाथ प्रदर्शन हुँदैछ । चलचित्र ‘प्रेमगीत ३’ नेपाली भाषासँगै हिन्दी भाषामा पनि निर्माण गरिएको छ । आशुसेन फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र साङ्गीतिक प्रेम कथामा आधारित हो । यसअघि ‘प्रेम गीत’ ‘प्रेम गीत २’ प्रदर्शनमा आइसकेका छन् ।
अभिनेता प्रदीप खड्का र नवअभिनेत्री कृष्टिना गुरुङको मुख्य अभिनय रहेको यस चलचित्रमा मनिष राउत, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, अनुभव रेग्मी, योगीशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय रहेको छ ।
त्यस्तै चलचित्र ‘बाबरी’ यही असोज १४ गते शुक्रबार प्रदर्शन हुँदैछ । चलचित्रमा अभिनेत्री अदिती बुढाथोकी र अभिनेता धीरज मगरको मुख्य अभिनय रहेको छ । त्रिकोणात्मक प्रेमकथामा आधारित यस चलचित्रलाई निर्देशक सुरेन्द्र पौडेलले निर्देशन गरेको हो ।
यो चलचित्र नेपालसँगै विदेशमा पनि एक साथ प्रदर्शन हुँदैछ । दक्षिण कोरिया, अष्टे«लिया, हङकङलगायत अन्य देशमा पनि असोज १४ गते नै प्रदर्शन हुने निर्देशक पौडेलले जानकारी दिए । बाबरी फिल्मको प्रस्तुतिमा निर्माण भएको यो चलचित्र पुष्पलता बुढाथोकी र गणेश बुढाथोकीले निर्माण गरेको हो ।
चलचित्र ‘दुई नम्बरी’ विजयादशमीको दुईदिन पछि अर्थात् असोज २१ गते प्रदर्शन गरिने भएको छ । दीपेन्द्र लामाको निर्देशनमा तयार पारिएको यस चलचित्रमा अभिनेताद्वय दयाहाङ राई, सौगात मल्ल र अभिनेत्री उपसना सिंह ठकुरीको मुख्य अभिनय रहेको छ । दीपक मनाङ्गे, अमलादेवी राई र जयश श्रेष्ठको संयुक्त लगानीमा बनेको यो चलचित्र सामाजिक कथावस्तुमा आधारित छ ।
यो चलचित्र पनि नेपाललगायत विदेशमा प्रदर्शन गरिने भएको छ । चलचित्र पक्षले अष्ट्रेलिया, न्युजिल्याण्ड, क्यानडा, अमेरिकामा भएका नेपाली दर्शकले चलचित्र हेर्न पाउने जानकारी दिइएको छ । चलचित्रमा नवनायिका उगेन छोदेन, बुद्धि तामाङ, शारदा गिरी, कविता आले, सुष्मा निरौलालगायत कलाकारको अभिनय छ । यसअघि चलचित्र पक्षले कात्तिक ४ गते तिहारमा प्रदर्शन मिति तोकेको थियो । त्यस्तै चलचित्र ‘हिजोआजका कुरा’दसैँ सकिएपछि र तिहारको मुखमा अर्थात् असोज २८ गते प्रदर्शन हुँदैछ । कलाकार सन्तोष पन्तले लामो समयदेखि निर्माण गर्दै आएको हाँस्य टेलिशृङ्खलालाई अब चलचित्रमा परिणत गरिएको हो । उक्त चलचित्रमा कलाकार पन्तका छोरा साकारले निर्देशन गरेका छन् । कलाकार पन्त र रमा थपलियाको मुख्य अभिनय रहेको उक्त चलचित्रमा रिमा विश्वकर्मा, केकी अधिकारी, जेविका कार्की, नितेशराज पन्त, विनायक कुइँकेललगायत कलाकारको अभिनय रहेको छ ।
चलचित्र प्रदर्शनका लागि दसैँ, तिहार बिदा उपयुक्त मानिँदै आएको छ । अरु बेलाभन्दा दसैँमा आमदर्शक घरपरिवारसँग रमाइलो गर्ने, चलचित्र हेर्ने, मनोरञ्जन गर्ने मुडमा हुन्छन् । त्यस कारण सामान्य चलचित्र पनि व्यावसायिक हिसाबले सफल हुनेमा निर्माताको विश्वास छ । यस वर्षको दसैँमा प्रदर्शनमा आउने चलचित्र निर्माताले आफ्नो चलचित्र भिन्नभिन्न कथावस्तुमा रहेको बताएका छन् । रासस
सम्बन्धित समाचार
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
