बादी समुदाय भन्दछन् व्यवस्था बदलिए, अवस्था बदलिएन
कञ्चनपुर। कृष्णपुर नगरपालिका–२ गुन्यालफाँटाका कित्थे बादी पहिला विवाहमा नाचेर पाएको बक्सीसबाट घरधन्दा चलाउँथे । हाल उनको दिनचर्या फेरिएको छ । पहिला जस्तो उनले नाचगान गर्दैनन् । परिवारको खर्च धान्न उनले कृषि मजदुरी गर्छन् ।
“विवाह, ब्रतबन्ध, न्वारनलगायतमा बादी समुदायका नृत्यकलाई बोलाइने गरिन्थ्यो उनले भने, “खुबै नाच्थ्यौँ, मादलको तालमा नाच्ने बादी नृत्यक मात्रै हुन्थे, हाल समय फेरियो, विवाहमा बेहुलासँगै उनका आमाबुवासम्म बैण्डबाजाको तालमा नाच्छन् ।”
बादी समुदायलाई बोलाउनै छाडिएपछि परम्परात पेसा ओझेलमा परेको उनले बताए । बादी समुदायले मादल, सारङ्गी, तबला, हारमोनियम बजाउने काम पुर्खौंदेखि गर्दै आएका हुन् । हाल परम्परागत बाजा बनाउने काम युवापुस्ताले विर्षंदै गएका छन् । परम्परागत बाजा बनाउने सीपलाई आधुनिक बनाइनुपर्ने काले बादीले बताए । “हाल पेसा व्यवसायसँगै जग्गा जमिन नहुँदा दुई छाक खाना जुटाउनै मुश्किल छ”, उनले भने, “बाजा बजाउने सीपलाई आधुनिक बनाई व्यावसायिक बनाइनुपर्छ ।”
बादी समुदायका युवा परम्परागत पेसाबाट जीविका नचलेपछि घरमै ताल लगाएर परिवारसहित भारतमा मजदुरी गर्न जाने गरेका छन् । बादी समुदायको पुख्र्यौंली पेसाका रुपमा नाचगान गर्ने, माछा मार्ने, माटोका घैँटा, सुल्पा, चिलिम बनाएर गाउँगाउँमा अन्नसँग साटेर जीविका चलाउने गरेका थिए । हाल माटोबाट बनेका सामानको विकल्पका रुपमा अरु सामान सहजरुपमा पाउन थालिएपछि बादी समुदायले बनाउने समानको महत्व घट्दै गएको छ ।
“बादी समुदायले आफैँ गीतको रचना गरी मादलसँगै सारङ्गी रेटेर गीत गाउने चलन पुरानै हो”, दुरा कुमालले भने, “यस पेसालाई व्यावसायिक बनाउनुपर्दथ्यो, बादी समुदायलाई प्रोत्साहित गरिनुपर्दथ्यो, व्यवस्था बदलिए पनि हाम्रो अवस्था बदलिएको छैन ।”
“ चुनावका बेलामात्रै राजनीतिक दलका नेताहरुले बस्तीमा पुगेर सबै थोक पूरा गर्ने वचनबद्धता गर्दछन्, चुनाव जितेपछि कोही पनि बस्तीमा फर्कंदैनन् युवालाई भारततर्फ पलायन हुनबाट रोक्नका लागि स्थानीय तहले आत्मनिर्भर बनाउने कार्यक्रम सञ्चालन गर्नुपर्दथ्यो, त्यो पनि हुन सकेको छैन”, उनले भने ।
पुस्तौँदेखि गर्दै आएको कार्य भने गीत सङ्गीतको हो, त्यसलाई जीवन्त राखिनुपर्ने उनको भनाइ छ । बस्तीकै मना बादी पाठेघरको समस्याले दुई महिनादेखि थला परेका छन् । उपचार गर्ने पैसा नहुँदा पीडा सहेर बस्नुपरेको उनले सुनाए।
“हकअधिकारका लागि काठमाडौँसम्म आन्दोलन ग¥यौँ, बादी समुदायको समस्या समाधानका लागि पटकपटक आयोग गठन हुँदै आए पनि हामीले अहिलेसम्म केही पाएनौँ”, दुराले भने, “बस्दै आएको फाँटामा पहिला बादी परिवार मात्रै बसेका थियौँ, जग्गाकै लागि बस्तीका १२ जना जेल बस्यौँ, अरुले जग्गा कब्जा गरेपछि नौधुर जग्गामा सीमित भएर बस्नुपरेको छ ।” बालबालिकालाई विद्यालय पढाउन सकिने अवस्था नरहेको उनले बताए ।
“सामुदायिक विद्यालयमै बादी समुदायका बालबालिकाबाट शुल्क लिइने गरिएको छ”, उनले भने, “परीक्षा शुल्क, भर्ना शुल्क, सरस्वती पूजा भनेर पैसा लिइने गरिएको छ, ऋणदान गरेर बालबालिकालाई विद्यालय पठाउँछौँ, शुल्क असुल्न थालेपछि खर्च धान्नै गाह्रो भएको छ ।” जनता आवास कार्यक्रम अन्र्तगत बादी बस्तीमा २२ घर बनेका छन । निर्माण गरिएका घरको छानामा राखिएका जस्तापाता हावाहुरीले पटकपटक उडाउँदा बादी समुदायले हैरानी खेप्दै आएका छन । “हावाहुरीले जस्तापाता उडाउँदा खुला आकास बस्नुपर्ने अवस्था छ”, विमल बादीले भने, “गर्मीका बेला जस्तापाता तातेर बस्नै सकिँदैन, पटकपटक हावाहुरीले जस्तापाता उडाउने पुनःछानामा राख्ने कार्य गरिँदै आएपछि जस्तापातामा प्वालैप्वाल पर्दा वर्षात्का बेला चुहिने गरेका छन् ।”
निर्माण गरिएका घरको छानामा राखिएका जस्तापाता हटाएर पक्की ढलान गरिनुपर्ने उनको माग रहेको छ । अझै बस्तीका ५० परिवार झुपडीमै बस्दै आएका छन । बादी परिवार कमाई खाने जग्गा, पुख्र्यौंली गीत सङ्गीतको पेसा जगेर्ना र युवालाई सीपमूलक रोजगारीमा संलग्न गराउन माग गरे।
नगर प्रमुख हेमराज ओझाले बादी समुदायका युवालाई व्यावसायिक सीप सिकाएर स्वरोजगार बनाउन प्रतिबद्ध भएको बताए । “बादी समुदायले प्रस्ताव लिएर आए सोहीअनुसारको सीप सिकाएर व्यावसायिक बनाउँछौँ”, उनले भने ।
सम्बन्धित समाचार
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

