यसवर्ष सगरमाथामा ‘ट्राफिक जाम’ हुने सम्भावना उच्च
काठमाडौं । जारी सिजनमा सगरमाथा आरोहण गर्न इतिहासकै सर्वाधिक बढी आरोहीले अनुमति लिए पनि बाटो नबनेका कारण आरोहण अवधि छोटिने भएको छ । विगतका वर्षमा यति बेला आरोहणका लागि (डोरी टाँग्ने) बाटो तयार भइसकेका हुन्थे तर यस पटक प्रतिकूल मौसमका कारण बाटो तयार नहुँदा आरोहण अवधि छोटिने भएको हो । गत वर्ष वैशाख २४ गते ११ जना शेर्पा समूह (आइसफल डाक्टर)ले चुचुरोसम्मै बाटो तयार पारेपछि सगरमाथा आरोहण सुरु भएको थियो ।
नेपाल पर्यटन विभागका अनुसार हाल साउथ कोल (चोथो शिविर) सम्म बाटो तयार भइसकेको छ तर त्यहाँभन्दा माथिको बाटो तयार पार्न बाक्लो हिमपात र उच्च गतिको हावाहुरी बाधक बनिरहेको छ । प्रतिकूल मौसमका कारण चुचुरोसम्मको बाटो बनाउन अझै एक साता लाग्ने भएपछि यस पटकको आरोहण अवधि छोटो हुने विभागले जनाएको छ ।
विभागका निर्देशक युवराज खतिवडाका अनुसार आरोहणका लागि सगरमाथा क्षेत्रमा रहेका आरोही तेस्रो शिविरसम्म आरोहणको अभ्यास गर्दै चुचुरोमा पुग्न अनुकूल मौसमको प्रतीक्षामा छन् । उनले भने, “पछिल्लो दुई दिनमा सगरमाथा क्षेत्रको मौसममा क्रमिक सुधार आएको छ ।
वैशाख २८ सम्म उच्च हावाको गति कम हुने अनुमानसहित आरोहणका लागि प्रक्रिया अघि बढ्ने विश्वास लिएका छौँ ।” जेठ १५ गते सगरमाथा आरोहणको अन्तिम दिन भएकाले यस पटक छोटो समयमा धेरै आरोही आरोहणको प्रतीक्षामा रहेको बताइएको छ ।
यस पटक सगरमाथा आरोहणका लागि अनुमति लिनेको सङ्ख्या उल्लेख्य रहेकाले सम्भावित ट्राफिक जामलाई व्यवस्थापन गर्न सम्बद्ध एजेन्सीहरूलाई व्यवस्थापनका लागि निर्देशनसमेत दिइसकेको उनको भनाई छ ।
सगरमाथाको दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा पाएको इमाजिन नेपाल ट्रेक एन्ड एक्सपिडिसन कम्पनीका अनुसार एक सातादेखि प्रतिकूल बनेको मौसमका कारण बाटो बनाउन खटिएका आइसफल डाक्टरहरू आधार शिविर झरेका छन् । मौसम सुधारको सङ्केत पाउनेबित्तिकै बाटो बनाउन जाने तयारी अवस्थामा रहेको बताइएको छ ।
इमाजिन नेपालका कार्यकारी निर्देशक दावा ग्याल्जेन शेर्पाले आगामी एक साता आइतबारको जस्तै मौसम कायम रहे वैशाख २९ गते चुचुरोसम्म बाटो तयार हुने विश्वास व्यक्त गरे ।
सगरमाथाको दोस्रो शिविरसम्म सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी) ले बाटो बनाएको थियो । सगरमाथाको साउथ कोलसम्म वैशाख १० गते नै बाटो खुलिसकेको थियो ।
यस पटक ६५ देशका ४३ आरोही समूहका ४६६ आरोहीले आरोहण अनुमति लिएको विभागले जनाएको छ । जसमा ९८ महिला र ३६८ पुरुष छन् । सगरमाथा आरोहणको ७० वर्षे लामो इतिहासमा यो सिजनको आरोहणमा सबैभन्दा बढी आरोहीको सङ्ख्या हो । यसअघि सबैभन्दा धेरै सन् २०१९ मा ३१५ जनाले आरोहण अनुमति लिएका थिए । गोरखापत्र दैनिकबाट
सम्बन्धित समाचार
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
आकाशिँदै सुनको भाउ, तोलामा ३ लाख ५ हजार ४ सय
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
विपद् व्यवस्थापनमा नेपाल र नेशनल मेडिकल कलेजको ७५ लाख सहयोग
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

