घरको मठमा कीटाणुनाशक तुलसी रोपियो
काठमाडौँ । बहुगुणले युक्त वनस्पति तुलसी कीटाणुनाशक भएकाले घरको मूलढोकामा हावा आउने गरी मठ बनाएर रोप्ने वैदिक सनातनी हिन्दू परम्परा छ ।
प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर–घरमा तुलसीको दल राखिन्छ । आषाढ शुक्ल एकादशीका दिन दलबाट घरको तुलसीको मठमा बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु भएको हो ।
आयुर्वेद क्षेत्रमा लामो समय काम गर्दै आएका प्रा. डा.चन्द्रराज सापकोटाले वैज्ञानिक र औषधीय गुणले युक्त भएकाले पुर्खाले घर–घरमा यसको मठ बनाएर पूजा आराधनाको रीत बसालेको बताए। आफू सिंहदरबार वैद्यखाना विकास समितिको प्रबन्ध निर्देशक भएका बेला विसं २०५५ मा औषधीय गुणले युक्त तुलसीबाट चिया समेत उत्पादन गरेको उनको भनाइ छ ।
“तुलसीको चियाले मानव शरीरका कीटाणु नाश गरी स्वस्थ बनाउने भएकाले दैनिक सेवन गर्नु फलदायी हुन्छ, कोरोना महामारीको सङ्क्रमणदर तीव्र भएका बेला तुलसी, सुठो, पिप्ला, मरिच, त्रिकटुलाई काँडा पानी बनाएर पिउनेहरु बढेका थिए । कीटनाशक भएकाले पनि वैदिककालदेखि तुलसीको महत्व बढेको हो”, प्रा. डा. सापकोटाले भने।
हामीकहाँ उपलब्ध वनस्पति र खाद्यान्न स्वास्थ्यसँग सम्बन्धित भएको भन्दै अमृता समेत भनिने गुर्जो धेरै रोगका लागि लाभदायक रहेको उनको भनाइ छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई भगवान विष्णुको प्रतीकका रुपमा पनि लिइन्छ ।
आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईको भनाइ छ ।
भगवान् विष्णु शयन गर्नुहुने चार महिनालाई चतुर्मासा पनि भनिन्छ । यसवर्ष साउनमा अधिकमास परेका कारण चान्द्रमास अनुसार पाँच महिना हुने भएको छ । एक वर्षमा २४ एकादशी पर्छन् भने अधिकमास परेको वर्ष भने २६ वटा एकादशी पर्छन् । सबै एकादशीका दिन सक्नेले फलाहार मात्र गरेर व्रत बस्छन् । नसक्नेले चतुर्मासाका चार महिनामा पर्ने आठ एकादशीमा व्रत गर्ने चलन छ ।
कामकाजमा सक्रिय हुनुपर्ने र चार महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन् । यी दुवै एकादशीलाई ठूलो एकादशी भन्ने प्रचलन छ ।
हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि राजधानीको बूढानीलकण्ठ, उपत्यकाका चार नारायणलगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड लागेको छ । चतुर्मासाभर देशभरका नारायण मन्दिरमा भक्तजनको विशेष भीड लाग्ने गरेको छ ।
एकादशीका दिन विशेष गरी चामलबाट बनेका परिकार नखाने रोटी, ढिँडोलगायत फलाहार गर्ने गरिन्छ । वैज्ञानिकरुपमा पनि बढी अक्सिजन पाइने भएको तुलसी विभिन्न रोगका लागि औषधीका रुपमा समेत प्रयोग गरिन्छ ।
तुलसीको मोठ भएका स्थानमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वास समेत गरिन्छ । वास्तु दोष भएका स्थानमा तुलसीको मोठ राख्नाले वास्तु दोष निवारण भई सकारात्मक फल प्राप्त हुने मान्यता छ । तुलसी भएका स्थानमा शुद्ध हावा बहने तथ्य समेत वैज्ञानिक रुपमा पुष्टि भएको छ ।
चार महिनासम्म विधिपूर्वक पूजा आराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन दामोदरसँग विवाह गरिदिने वैदिक विधि छ । तुलसी र दामोदरको विधिपूर्वक विवाहपछि अग्निस्थापना विधिबाट पूजा आराधनासहित चतुर्मासा व्रतको उद्यापन गरिन्छ । उद्यापनका लागि मार्गशीर्ष कृष्ण पञ्चमीका दिनसम्म जुराउनु नपर्ने र त्यसपछि भने अग्निस्थापना जुरेका दिन हवन गरी तुलसीको व्रत समापन गरिन्छ ।
सम्बन्धित समाचार
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
मिड भ्याली इन्टरनेसनल कलेज र इस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजीबिच शैक्षिक सहकार्य विस्तार
देशभर मनसुनी वायुको प्रभाव कायमै : केही स्थानमा भारी वर्षाको सम्भावना
२०८३ साउन २३ गते शनिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ अघि नै काठमाडौंमा देखियो चेरी क्यु
बाल सुरक्षा विवादमा मेटालाई ५६७ मिलियन डलरको जरिवाना
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु, एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
जापानमा भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ३५ पुग्यो

