कालीगण्डकीको बहाव उच्च विन्दुमा, शालिग्राम शिला डुबानमा
पर्वत । लगातारको वर्षाका कारण मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत हुँदै बग्ने कालीगण्डकी नदीको बहाव उच्च विन्दुमा पुगेको छ । मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतमा परेको अत्यधिक वर्षाका कारण नदीको सतह बढेको हो । दुई वर्षयताकै उच्च विन्दुमा नदिको सतह पुगेको कालीगण्डकी नदीमा पानीको बहाव नाप्दै आएका गेज रिडर कृष्णप्रसाद सुवेदीले बताए ।
उनले बिहानैदेखि नदीको सतहदेखि झन्डै आठ मिटर उचाइमा बहाव भइरहेको बताए । अहिलेको पानीको बहाव झन्डै दुई सय ८३ क्युसेक रहेको छ । यो यस वर्षकै सबैभन्दा बढी मापन हो । यसअघि गत साउनमा सात दशमलव ४० मिटरको विन्दुसम्म पुगेको थियो । वर्षा नरोकिएमा अझै बहाव बढ्ने सम्भावना रहेको उनले बताए ।
कालीगण्डकी नदीको बहाव अत्यधिक मात्रामा बढेपछि तटीय क्षेत्रका बासिन्दा जोखिममा परेका छन् । पर्वतको जलजला गाउँपालिकाका बगरफाँट, वारिबेनी, मिलनचोक, लस्ती र खनियाँघाट तथा कुश्मा नगरपालिकाका मालढुङ्गा, नयाँपुल र मोदीवेणी एवं फलेवास नगरपालिकाका जैमिनीघाट र विहादी गाउँपालिकाको सेतीबेनी बजार उच्च जोखिममा परेका हुन् ।
बहाव उर्लिएपछि पर्वत, स्याङ्जा र गुल्मीको सिमानामा अवस्थित विश्वकै ठूलो शालिग्राम शिलासमेत डुबानमा परेको छ । शिला डुबानमा परेसँगै उक्त क्षेत्रमा कार्यरत पुजारी तथा पण्डितसमेत विस्थापित बनेका छन् । पवित्र शालिग्राम शिला र शालिग्राम क्षेत्रका सत्तललगायत सबै संरचना डुबाएको स्थानीय तिलक पराजुलीले बताए । शिला संरक्षणका लागि बनाइएको तटबन्ध र ग्याबिनसमेत पानीले पुरिएपछि शिलामा दर्शन गर्न जाने पूर्वाधारमा पनि पूर्ण रुपमा क्षति पुगेको उनले बताए ।
कालीगण्डएकी ‘ए’ जलविद्युत् आयोजनाको बाँधका कारण बाढी आउँदा पर्वत, स्याङ्जा र गुल्मीको सिमानामा पर्ने सेतीबेनी बजार डुबानको खतरामा पर्ने गरेको हो । बाँधका सबै ढोका भने खोलिएका छन् । कालीगण्डकी र सेतीखोलाको बहाव बढेसँगै सेतीबेनी बजार डुबानमा पर्ने चिन्ताले पर्वतमा पर्ने बजार क्षेत्र र स्याङ्जा तर्फको बजार क्षेत्रका झन्डै दुई सय व्यापारी तथा सर्वसाधरण त्रसित बनेका छन् ।
विगत १४ वर्षअघि कालीगण्डकी र सेतीखोला उर्लेर आउँदा तीन दर्जन घरपरिवार विस्थापित बनेका थिए । विसं २०६६ असोज २१ मा बजार क्षेत्र नै डुबानमा परेको घटनाले उनीहरुमा सधैँभर त्रास थप्ने गरेको स्थानीय व्यवसायी विष्णु न्यौपानेले बताए । उनले विश्वकै ठूलो शालिग्राम शिला डुबेको तर बजारसम्म भने आइनसकेको जानकारी दिए ।
स्थानीय प्रहरी चौकीका अनुसार अहिलेसम्म पनि पानीको बहाव उच्च छ । बजार क्षेत्रसँगै जोडिएको मन्दिरको सत्तल मुनिको सिँढीसम्म पानीको बहाव आइपुगे पनि खतरा भने बजारवासीलाई नरहेको प्रहरीले जनाएको छ । रासस
सम्बन्धित समाचार
अण्डाको मूल्य फेरि बढ्यो, बजारमा नयाँ दर लागु
नेप्से परिसूचकमा ७.७९ अंकको गिरावट, ४ अर्बभन्दा बढीको कारोबार
गुगल र मेटा पछि एप्पलले पनि अब स्मार्ट चश्मा ल्याउने
यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु सर्ज – पावरिङ अहेड टुगेदर’ पार्टनर्स मिट २०२६ मा सहभागी हुन पटाया, थाइल्यान्ड प्रस्थान
प्रभु बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला
पहिरो, बाढी र वर्षाका कारण देशभरका विभिन्न राजमार्ग अवरुद्ध
ट्रेन्डिङ
जापानमा शक्तिशाली भुकम्प, सपिङ मलका ३० भन्दा बढी कर्मचारी बेपत्ता
२०८३ साउन १२ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन १३ गते बुधवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो
अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

