काठमाडौं । पछिल्लो समय निजामती क्षेत्र बदनाम भइरहेको छ । कर्मचारीहरुको भ्रष्टाचारजन्य गतिविधिका कारण बदनाम हुँदै गएको निजामती क्षेत्र झनै कलकिंत बन्न पुगेको छ, कार्यालय प्रमुखहरुको यौनजन्य गतिविधिका कारण ।
पछिल्लो दुई महिनामै चार जना कार्यालय प्रमुखहरु यस्तै अश्लिल हर्कतका कारण बदनामीमा मुछिएका छन् । एक प्रहरीको चिसो सिढिमा पुगेका छन्, एक जना हिरासतमा छन् ।
यस्तै एक उपसचिव सामान्य प्रशासनको अतिरिक्त समूहमा तानिएका छन् । हिजैमात्र अर्का एक कार्यालय प्रमुख र लेखा प्रमुखको अश्लिल हर्कतले सामाजिक सञ्जाल रंगिएको छ ।
गत श्रावण दोश्रो साता दमक नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत डम्बरु निरौलाले पालिकाको क्वार्टरभित्रै एक डिभोर्सी महिलासँग मदिरामा लठ्ठ भएर चुम्बन गरेको भिडिओ सामाजिक सञ्जालमा छरपष्ट भएको छ ।
क्वार्टरभित्रै महिलासँग अनैतिक गतिविधिको भिडियो सामाजिक सञ्जालमा ‘भाइरल’ भएपछि सामान्य प्रशासनले अत्तिरिक्त समूहमा राखेको छ गत २४ साउन गतेदेखि ।
डमरुको ठाउँमा सामान्यले उपसचिव गणेशराज कार्कीलाई खटाएको छ । दुई छोरी सहित श्रीमती सिनामंगलमा बस्दै आएकी छिन् । परस्त्रीसँग अश्लिल हर्कतमा जोडिएका डम्बरु अहिले सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा तानिएका छन् ।
यो प्रकरण साम्य हुन नपाउँदै अर्को कार्यालय प्रमुख प्रहरीको फन्दामा परे । घरमा काम सघाउने युवतीमाथि यौन शोषण गरेको प्रमाण भेटिएपछि इञ्जिनियर हरिकुमार पोखरेल अहिले प्रहरीको चिसो सिढिमा पुगेका छन् ।
मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक इञ्जिनियर पोखरेललाई काठमाडौं जिल्ला अदालतले जर्बजस्ती करणी मुद्धामा पुर्पक्षका लागि थुनामा पठाइसकेको छ ।
आइतबारमात्र चितवनस्थित जिल्ला तथ्यांक कार्यालयका हाकिमले कार्यालय सहयोगीलाई पटक पटक यौन शोषण गरेको आरोपमा प्रहरी हिरासतमा पुगेका छन् ।
३५ बर्षीया कार्यालय सहयोगीलाई पटक पटक यौन शोषण गरेका र गर्भ बसेपछि क्लिनिकमा गर्भ पतन गराउन खोज्दा अत्याधिक रक्तश्राप भएर भरतपुर अस्पतालमा पुर्याइए पछि हाकिमले कार्यालय सहयोगीमाथि गर्ने गरेको यौन शोषणको बिषय बाहिर आएको हो ।
श्रीमानले दोश्रो विवाह गरेपछि आफ्नो पतीसँग अलग बस्दै आएकी र साहाराविहिन कार्यालय सहयोगी महिलालाई हाकिमले डर,धम्की देखाउँदै पटक पटक यौन शोषण गर्ने गरेको रहष्य उनी उपचारका लागि भरतपुर अस्पतालमा पुगेपछि खुलेको हो ।
गत भदौं १२ गते ४ महिना पूरा भइसकेको गर्भ पतन गराइएपछि अत्याधिक रक्तश्राप भएका कारण ती कार्यालय सहयोगी महिलालाई अहिले भरतपुर अस्पतालको आइसियूमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ ।
यसरी कार्यालय सहयोगीमाथि यौन शोषण गर्न हाकिम हुन यज्ञमूर्ति भण्डारी, जो जिल्ला तथ्यांक कार्यालय चितवनका प्रमुखको जिम्मेवारीमा छन् ।
यो प्रकरण बाहिरिएपछि तथ्यांक कार्यालय प्रमुख भण्डारीलाई हिरासतमा लिएर आइतबार जबरजस्ती करणीअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
यता, मंगलबार अर्को सनसनी फैलियो । इलामस्थित माईजोगमाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत काजीमान राई र त्यहीँको लेखा प्रमुख रेश्मा राईबीच कार्यालयभित्रै यौनजन्य गतिविधि समेटिएको भिडियो ।
सामाजिक सञ्जालमा भेटिएको भिडियोमा लेखा अधिकृत आफ्नो कार्यकक्षमा पस्दै गर्दा अंकमाल गर्दछन् । महिला अधिकृत आफ्नो कुर्सीमा बसिसकेपछि चुम्बन गर्नेदेखि वक्षस्थल मसार्ने, हात सुम्सुम्याउने लगायतका अश्लिल हर्कत कार्यकक्षमै गरिएको देखिन्छ ।
राई गत माघदेखि सो पालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटिएका छन् । उनी विवाहित रहेको बताइएको छ । यस अघि चुलाचुली गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदा राईले इन्टेग्रीटी आइकन अवार्डसमेत हात पारेका थिए ।
पछिल्ला महिना दिनमै चार जना कार्यालय प्रमुखहरु यस्ता अश्लिल हर्कतमा सामेल हुनुले निजामती सेवा कुन दिशातर्फ जाँदैछ गम्भीर प्रश्न उब्जाएको छ ।