Jankari Kendra
१९ श्रावण २०८३, मंगलवार
Worldlink

त्रिभुवन विमानस्थल हुँदै सुन तस्करी किन हुन छोडेन ?

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८०, मंसिर, २३
त्रिभुवन विमानस्थल हुँदै सुन तस्करी किन हुन छोडेन ?

बीबीसी । तस्करहरूले नेपालमा सुन भित्र्याउन अनेक जुक्ति लगाउने गरेको पाइएको छ । त्यसलाई पुष्टि गर्ने घटना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीवार देखिएको प्रहरीले जनाएको छ । यूएईबाट आएका एक नेपाली नागरिकको जीउमै १४ किलोग्राम सुन भेटिएको प्रहरीले जनाएको छ । तर उनले ल्याएको यहेँलो धातु सुन भए नभएको परीक्षण हुन बाँकी छ ।

विमानस्थलस्थित भन्सार कार्यालयका अधिकारीहरूले दुबईबाट सुन आउँदै गरेको सुराकीका आधारमा एक दिनअघिबाटै विमानस्थलमा निगरानी गरिएको दाबी गरेका छन् । “सुराकीको आधारमा हामीले उनलाई विमानदेखि नै पछ्याएका थियौँ । यात्राको समय र विमान बारे निगरानी गरिरहेका थियौँ,” विमानस्थल भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डेले भने ।

“हामीलाई प्राप्त सूचनामा झन्डै १० केजीसम्म हुन सक्छ भन्ने थियो तर बरामद हुँदा करिब १४ केजी देखिएको छ ।” पाण्डेका अनुसार सुन लिएर आउने व्यक्ति अघिल्लो दिन नै सूचना थियो। तर उनी बिहीवार मध्यराति नेपाल ओर्लिए । सुन तस्करी हुन सक्ने आशङ्कामा अघिल्लो दिन पनि केही उडानहरूलाई निगरानीमा राखिएको भन्सार कार्यालयले जनाएको छ ।

कसरी भित्रियो सुन ?
विमानस्थलमा कैद गरिएका तस्बिर र भिडिओहरूमा ठूलो परिणाममा सुन बोकेर आएका व्यक्ति ‘निडर’ देखिएको भन्दै सामाजिक सञ्जालमा चर्चा भइरहेको छ । अधिकारीहरूले यो पाटो बारे पनि अनुसन्धान हुने बताएका छन् । “निर्बाध रूपमा ओसारपसार भएको जसरी ती व्यक्तिले हिम्मतका साथ आएका छन् । त्यसले अझै निगरानी बढाउनु पर्ने जस्तो देखिन्छ,” भन्सार विभागका प्रवक्ता पुण्यविक्रम खड्काले भने ।

ती व्यक्तिले दुबईको विमानस्थलबाट कसरी सुन पार गराए भन्नेबारे पनि छानबिन गरिने अधिकारीहरूले बताएका छन् । ती व्यक्तिले ज्याकेटभित्र एउटा कपडामा बनाइएका खल्तीमा दुई दुई केजीका सातवटा प्याकेट ल्याएका थिए । “उनले कसलाई भेट्थे, कहाँ कहाँ जान्थे भन्ने अब छानबिनबाट स्पष्ट होला,” विमानस्थल भन्सार प्रमुख पाण्डे भन्छन् ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयले उक्त सुन प्रकरण बारे छानबिनका लागि समिति छ(सदस्यीय समिति गठन गरेको छ । प्रमुख भन्सार अधिकृत मनिराम पौडेलको नेतृत्वमा रहेको छानबिन समितिलाई यसमा संलग्न व्यक्तिहरूबारे पाँच दिनमा प्रतिवेदन दिन भनिएको छ । भन्सार कार्यालयका प्रमुख पाण्डे छानबिनपछि मात्रै थप विवरण दिन सकिने बताउँछन् । प्रहरीले उक्त सुन तस्करी प्रकरणमा संलग्न रहेको आशङ्कामा अर्का एक व्यक्तिलाई पनि पक्राउ गरिएको जनाएको छ ।

नेपाल प्रहरीको अधिकार बहस
नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायत विमानस्थलबाट यात्रुहरू नेपाल आउने कक्षमा प्रहरीको पहुँच नहुँदा यस्ता किसिमको तस्करी रोक्न प्रहरीको भूमिका नहुने बताउँछन् । “विमानस्थलबाट यात्रुहरू आउने ठाउँमा प्रहरीको पहुँच छैन । बाहिर आएपछि वा त्यहाँ बाहिर हुने सुन तस्करीमा मात्रै प्रहरीले छापा मार्छ,” उनले भने ।

प्रहरीका अनुसार सुरुमा नेपालको अध्यागमन पनि प्रहरीले हेर्दै आएको थियो । तर हाल नेपालको अध्यागमन र भन्सार जाँचपासमा प्रहरीको उपस्थिति हुँदैन । त्रिभुवन विमानस्थलको सुरक्षामा नेपाल प्रहरीको नायब महानिरीक्षक नेतृत्वमा टोली खटाइएको भए पनि विमानस्थलबाट बाहिर जानेहरूलाई मात्रै प्रहरीले चेकजाँच गर्न पाउने अधिकार रहेको कडायत बताउँछन् ।

“विमानस्थलको आगमनमा पनि प्रहरीको उपस्थिति हुनुपर्‍यो भनेर पटकपटक माग गर्दै आएका छौँ,” उनले भने । भन्सार विभागका प्रवक्ता खड्का प्रहरीलाई थप पहुँच दिने विषय पुनर्विचार गर्न भन्सार प्रशासन तयार हुन सक्ने बताउँछन् । “आगमनमा पनि यात्रुहरूको जाँच पास प्रहरीले लिन खोजेको हो भने भन्सार प्रशासन यसमा नकारात्मक हुनुपर्ने जस्तो मलाई लाग्दैन,” उनले भने ।

नेपालमा किन हुन्छ सुन तस्करी
नेपालमा राष्ट्र ब्याङ्कले तोकेका वाणिज्य ब्याङ्कहरूले सरकारले निर्धारण गरेको कोटा अनुसारको परिमाणमा मात्रै सुन आयात गर्न पाउँछन् । त्यसका लागि पनि दैनिक १० किलोग्रामको सीमा तोकिएको छ । अधिकारीहरूका अनुसार दुबईमा सुनको मूल्य प्रतितोला नेपालको भन्दा १७,००० रुपैयाँ सस्तो छ।

सुनको मूल्य उच्च भइरहँदा र छिमेकी देश भारतमा यसको माग धेरै भएका कारण अधिकारीहरूले नेपालमा तस्करी भएर आउने सुन खुला सिमाना भएको भारततर्फ लगिने बताउने गरेका छन् । गत साउनमा मोटरसाइकलको उपकरणका नाममा हङ्‌कङबाट भित्र्याइएको ६० केजी सुन बरामद भएको थियो । त्यसअघि पनि भेपमा राखेर ल्याइएको ठूलो मात्रामा सुन बरामद भएको थियो ।

सुन तस्करको रोजाइमा सडक पनि
बारम्बार ठूलो मात्रामा सुन बरामद भएपछि अन्तर्राष्ट्रिय विमानस्थलमा कडाइ सुरु गरिएको विवरण आएका थिए । प्रहरीका अनुसार तस्करहरूले स्थलमार्ग हुँदै सुन भित्र्याउन सुरु गरेका छन् । शुक्रवार काठमाण्डू प्रवेश गर्ने नागढुङ्गामा बरामद भएको दुई केजी सुन रसुवा नाकाबाट भित्र्याइएको आशङ्कामा अनुसन्धान भइरहेको विवरण आएका छन् ।

गत असोजमा प्रहरीले दोलखास्थित चीनसँगको फलेक नाकाबाट भित्र्याइएको भनिएको ११ केजी सुन बरामद गरेको थियो । नेपाल प्रहरीका अनुसार गत आर्थिक वर्ष नेपालभरिबाट जम्मा १० केजी अवैध सुन बरामद भएको थियो । त्यसमध्ये काठमाण्डूबाट छ केजी र लुम्बिनी प्रदेशबाट चार केजी बरामद भएको थियो । यो वर्ष बरामद भएको सुन करिब १०० किलोग्राम पुगिसकेको बताइन्छ ।

Top Changing Nepal

युट्युब सट्स