Jankari Kendra
२४ श्रावण २०८३, आईतवार
Worldlink

राष्ट्रिय सभा निर्वाचन आज, नतिजा पनि आजै

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, माघ, ११
राष्ट्रिय सभा निर्वाचन आज, नतिजा पनि आजै

काठमाडौं । राष्ट्रिय सभा सदस्यको रिक्त हुन लागेको १९ पदका लागि आज मतदान हुँदै छ । २०७४ फागुनमा निर्वाचित राष्ट्रिय सभा सदस्यको पदावधि फागुन २० गते सकिन लाग्दा अर्को छ वर्षे पदावधिका लागि १९ सदस्यको निर्वाचन हुन लागेको छ । अर्का एक जना मनोनीत हुने छन् ।

निर्वाचन आयोगका अनुसार राष्ट्रिय सभा सदस्य निर्वाचनमा सात प्रदेशमा १९ पदका लागि आठ राजनीतिक दलबाट ५१ जना उम्मेदवारले प्रतिस्पर्धा गर्दै छन् । नेकपा (एमाले) को सबै १९ पदमा उम्मेदवार छन् । नेपाली कांग्रेसका १०, नेकपा (माओवादी केन्द्र) का छ, नेकपा (एकीकृत समाजवादी) का दुई र जनता समाजवादी पार्टीका एक जना उम्मेदवार छन् । जनमत पार्टीका दुई, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सात र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का चार जना उम्मेदवार छन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यक्रमबमोजिम अहिले बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुने छ । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐनबमोजिम प्रदेश सभा सदस्य र पालिकाका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष सम्मिलित निर्वाचक मण्डलले राष्ट्रिय सभा सदस्य निर्वाचित गर्ने छ । प्रदेश सभा सदस्यतर्फ ५४९ मतदाता छन् । पालिकातर्फ एक हजार ४९८ मतदाता छन् । यसरी राष्ट्रिय सभा सदस्य निर्वाचनमा कुल दुई हजार ४७ जना मतदाताले १९ सदस्यलाई निर्वाचित गर्ने छन् । प्रदेश सभा सदस्यको मतभार ५३ र पालिकाका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षको मतभार १९ कायम गरिएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतदान सम्पन्न भएपछि बिहीबार नै मतगणना सुरु हुने जानकारी दिए। उनले आज अबेर रातिसम्म मतपरिणाम आउने गरी गणना गर्ने तयारी गरिएको बताएका छन्।

Top Changing Nepal

युट्युब सट्स