सुरक्षित ठानेर आश्रय लिएको घर नै पहिरोले बगाउँदा ६ को मृत्यु, चार बेपत्ता
बागलुङ । बागलुङको बडिगाड गाउँपालिका-१० आरुपाटा गाउँका स्थानीय लगातारको वर्षाले त्रसित थिए । सोमबार साँझदेखि परेको भारी वर्षाबाट निम्तिन सक्ने विपद्को अनुमान लगाउँदै आरुपाटाका स्थानीयले सतर्कतासमेत अपनाएका थिए ।
आरुपाटाका स्थानीय मंगलबार बिहानै सुरक्षित घर खोज्दै छिमेकी जोगबहादुरको बुढाको घरमा पुगे । अपसोच बिहान ११ बजेर २० मिनेट पुग्दा सुरक्षित भनेर स्थानीय जम्मा भएकै घरलाई पहिरोले बगायो । पहिरोले जोगबहादुर बुढाको घर पुर्दा छ जनाको मृत्यु भयो ।
पहिरोमा चार जना अझै बेपत्ता रहेको आशङ्का गरिएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख ऋषिराम कँडेलका अनुसार घटनास्थल निकै दुर्गम स्थानमा भएका कारण प्रहरी चार घण्टापछि मात्रै उद्धारका लागि त्यहाँ पुगेको थियो ।
बडिगाड गाउँपालिका–१० का वडाध्यक्ष वीरेन्द्रकुमार बुढामगरका अनुसार भारी वर्षापछि स्थानीय सुरक्षित स्थान खोज्दै जोगबहादुर बुढामगरको घरमा पुगेका थिए । उनले भने, “गाउँमा पहिराको जोखिम थियो, जोगबहादुर बुढाको घरभन्दा तलको घर पहिरोको जोखिममा रहेका कारण सुरक्षित घरमा बसेर बुर्तिवाङ जाने योजनाका साथ छिमेकी यस घरमा आएका रहेछन्” ।
वडाध्यक्ष बुढामगरले घटनास्थलको दृश्य सम्झँदै भने, “जुन घर अलि सुरक्षित छ भनेर छिमेकी आएर जम्मा भएका थिए, त्यही घरलाई नै पहिरोले लग्यो, पहिरोले घरसहित गोठसमेत बगाएको छ, स्थानीयको सहयोगमा प्रहरी पुग्दा पाँच जनाको शव निकालिएको थियो, एक जनाको उद्धारपछि मृत्यु भएको थियो अन्य बेपत्ताको खोजीका लागि प्रहरी र नेपाली सेना परिचालन भएको छ ।”
घटनास्थलमा पुगेका प्रहरीले एउटै घरमा ठूलो मानवीय क्षति भएको र शवको पहिचान गर्दा एउटै घरका नभएर छिमेकी परेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी विजय यादवका अनुसार आश्रय लिएको घर नै पहिरोले बगाएपछि ठूलो मानवीय क्षति भएको हो । केही पहिरोको जोखिम टार्न जोगबहादुर बुढाको घरमा आएका थिए भने केही बुर्तिवाङ जानलाई त्यस घरमा पुगेका थिए ।
“एउटै घरमा यति धेरै मानिस रहेछन्, फरकफरक समुदायका मानिस आश्रय लिनका लागि त्यस घरमा पुगेको पाइयो”, यादवले भने, “त्यही घर नै पहिरोले पुर्दा छ जनाको मृत्यु भएको छ, अन्य चार जना बेपत्ता रहेको स्थानीयले बताएका छन्, बेपत्ताको यकिन भएको छैन, खोजीका लागि प्रहरी र नेपाली सेना परिचालन भइरहेको छ ।”
प्रहरीका अनुसार मृत्यु हुनेमा बागलुङ जिल्लाको बडिगाड गाउँपालिका १० निवासी ७० वर्षीया देवी कामी, पाँच महिनाकी सीता विक, सात वर्षीय मालती बुढा, आठ वर्षीय अमल बुढा, ११ वर्षीया सीता पुन र घरधनी ७८ वर्षीय जोगबहादुर बुढा रहेका छन्।
पहिरोमा परेर नौ जनासमेत घाइते भएका छन्। पहिरोमा परी घाइते हुनेमा बडिगाड गाउँपालिका–१० बस्ने २६ वर्षीय ओमप्रकाश पुन, ४६ वर्षीय सङ्गीता बुढा, २३ वर्षीया सिर्जना विक, ४३ वर्षीय मङ्गल सेन बुढा, १९ वर्षीया रिमा पुन, ६० वर्षीया सुमित्रा विक, ५१ वर्षीय शशिराम विक, नौ वर्षीय ज्ञाने बुढा र ३१ वर्षीया सीता थापा घाइते भएका छन् ।
घाइतेको बडिगाड गाउँपालिकाले पठाएको स्वास्थ्यकर्मीबाट प्राथमिक उपचार गरिएको छ । घरधनी जोगला बुढाको जीवितै उद्धार गरे पनि उद्धारको एक घण्टापछि मृत्यु भएको हो । पहिरोमा परी १० वर्षीय मनोज बुढा, तीन वर्षीय आरुष थापा, ६० वर्षीया मधु बुढा र ११ वर्षीय सुमन विक पहिरोमा बेपत्ता भएको प्रहरीको भनाइ छ ।
पहिरोमापरी गम्भीर तथा घाइतेको उद्धार र उपचारका लागि नेपाली सेनाको हेलिकप्टर परिचालन गरे पनि मौसम बाधक बनेको प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदीले बताए। पहिरोमा परेर गम्भीर घाइते भएकाको उद्धारका लागि काठमाडौँबाट आएको नेपाली सेनाको हेलिकप्टर बागलुङ बजारमा अवतरण गरेको छ । उद्धारका लागि हेलिकप्टर पुनःबिहिबार बिहानै पठाउने उनले बताए ।
बडिगाड गाउँपालिका–१० आरुपाटाको पहिरोमा परेर गम्भीर घाइते भएकाको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर पटकपटक प्रयास गर्दा पनि मौसमका कारण बडिगाडमा अवतरण गर्न नसकेपछि श्री नम्बर २३ बाहिनी अड्डा बागलुङमा अवतरण गरेको हो ।
यस्तै पहिरोका कारण बडिगाड गाउँपालिका–९ स्थित नयाँ बस्तीका १४ वर्षीय विधान परियार र सोही वडाको खहरे भन्ने ठाउँका २४ वर्षीय गङ्गा बस्नेतको मृत्यु भएको छ । घर माथिबाट आएको पहिरो पन्छाउने क्रममा परियारको र बाटोमा हिँड्दै गर्दा माथिबाट आएको पहिरोले बस्नेतको मृत्यु भएको थियो ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
