काठमाडौँ । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस कास्की जिल्ला अदालतमा जारी छ। गत मङ्गलबारदेखि सुरु भएको बहस शुक्रबारदेखि प्रतिवादी पक्षका कानुन व्यवसायीहरूले थालेका थिए।
आज (सोमबार) सभापति लामिछानेको तर्फबाट अधिवक्ता सुशीलकुमार पन्तले बहस गरेका छन्। यसअघि प्रतिवादी लीला पछाईँ र छविलाल जोशीको पक्षमा कानुन व्यवसायीहरूले बहस गरेका थिए। सरकारी वकिल र सहकारी पीडित पक्षको बहसपछि प्रतिवादी पक्षका कानुन व्यवसायीहरूले आफ्नो तर्क प्रस्तुत गरिरहेका छन्।
थुनछेक बहसपछि प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा राख्ने वा थुनामुक्त गरी अनुसन्धान जारी राख्नेबारे अदालतले आदेश दिनेछ। सहकारी ठगी प्रकरणमा रवि लामिछानेसहित ४४ जनाविरुद्ध पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको थियो।
सभापति लामिछानेमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा समेत दायर भएको छ। सरकारी वकिलका अनुसार यस प्रकरणमा हालसम्म ६३ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ। लामिछाने गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए। सहकारी ठगी आरोपमा अन्य प्रतिवादीहरूविरुद्ध पनि बिगो र सजायको माग गरिएको छ।