काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप संकलन करिब साढे ६९ खर्ब नजिक पुगेको छ । नेपाल राष्ट्र बैंकको जेठ २० गतेसम्मको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ६९ खर्ब ४५ अर्ब पुगेको हो । उक्त रकम हाल सञ्चालनमा रहेका ५४ वटा बैंक तथा वित्तीय संस्थले संकलन गरेको निक्षेप रकम हो ।
बैंक तथा वित्तीय संस्थाहरुमा रहेको निक्षेपमध्ये वाणिज्य बैंकहरुको मात्रै ६२ खर्ब भन्दा माथि रहेको छ । जेठ २० गतेसम्मको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप संकलन ६२ खर्ब ८ अर्ब रुपैयाँ पुगेको छ । यो अवधिमा अन्य बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ७ खर्ब ३७ अर्ब रुपैयाँ पुगेको छ ।
जेठ २० गतेसम्मको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले कुल ५५ खर्ब ५० अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । जसमध्ये वाणिज्य बैंकहरुको मात्रै ४९ खर्ब ३१ अर्ब र अन्य वित्तीय संस्थाको ६ खर्ब १९ अर्ब रुपैयाँ रहेको छ । अहिले बैंकहरुको सीडी रेसियो ७८।७८ प्रतिशत रहेको छ । त्यस्तै अन्तर बैंक ब्याजदर ३ प्रतिशत रहेको छ ।
अहिले बैंकमा अधिक तरलताको अवस्था रहेकाले केन्द्रीय बैंकले नियमित रुपमा बैंकहरुबाट रकम उठाइरहेको छ ।