काठमाडौं । नेपाल राष्ट्र बैंकले गैरकानुनी रूपमा हुने हुण्डी कारोबारमा संलग्न नहुन सबैलाई चेतावनी दिएको छ। कानुनविपरीत भुक्तानी प्रणालीमार्फत गरिने रकम कारोबार (हुण्डी) निषेध गरिएको उल्लेख गर्दै राष्ट्र बैंकले यस्तो कार्यमा संलग्न भएमा कडा कारबाही हुने जनाएको छ।
मुलुकी अपराध संहिता २०७४ को दफा १२५(क) अनुसार हुण्डी कारोबार गैरकानुनी मानिएको छ। राष्ट्र बैंकका अनुसार यस्तो कारोबार प्रमाणित भएमा त्यसबाट भएको बिगो र कमाइ जफत गरिनुका साथै एक वर्षसम्म कैद सजायसमेत हुन सक्छ।
पछिल्लो समय विदेशबाट नेपालमा अवैध रूपमा पैसा पठाउने र नेपालबाट विदेशतर्फ रकम लग्ने क्रम बढ्दै गएको देखिएको छ। तर, अनुगमन तथा अनुसन्धान कमजोर हुँदा हुण्डी कारोबार झनै फस्टाएको हो।
राष्ट्र बैंकले कानुनी माध्यमबाट मात्रै विदेशी मुद्रा कारोबार गर्न आग्रह गर्दै नियमनकारी निकायहरूलाई समेत निगरानी कडा बनाउन निर्देशन दिएको छ।