काठमाडौं । नेपाल राष्ट्र बैंकले एटिएम (डेबिट कार्ड) मार्फत झिक्न सकिने रकमको सीमा घटाउने निर्णय गरेको छ। राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले शुक्रबार जारी गरेको नयाँ निर्देशन अनुसार अब एक पटकमा अधिकतम २० हजार रुपैयाँ मात्र झिक्न पाइनेछ।
नयाँ निर्देशनअनुसार, अब एक दिनमा ५० हजार रुपैयाँ र एक महिनामा अधिकतम ३ लाख रुपैयाँ सम्म मात्रै डेबिट कार्डबाट झिक्न सकिने व्यवस्था गरिएको छ। यसअघि भने एटिएममार्फत एक पटकमा २५ हजार रुपैयाँ, एक दिनमा १ लाख रुपैयाँ र एक महिनामा ४ लाख रुपैयाँसम्म झिक्न पाइने व्यवस्था थियो।
राष्ट्र बैंकले डिजिटल भुक्तानी प्रणालीलाई प्रोत्साहन दिने र नगद कारोबारलाई नियमन गर्ने उद्देश्यले यस्तो व्यवस्था लागू गरिएको जनाएको छ।





