दाङ । सोनापुर मिनरल एण्ड आयल लिमिटेडले नेपाल विद्युत् प्राधिकरणलाई ट्रंक तथा डेडिकेटेड महसुलबापतको बक्यौता बुझाएको छ। दाङको घोराहीस्थित उक्त उद्योगले मंगलबार पहिलो किस्ताबापत ८६ लाख ३० हजार रुपैयाँ तिरेको हो।
प्राधिकरणका अनुसार उद्योगले बक्यौता बुझाएसँगै काटिएको विद्युत् लाइन सोही दिनदेखि पुनः जोडिएको छ। सोनापुर मिनरल एण्ड आयल लिमिटेडको विद्युत् महसुल बक्यौता २४ करोड २९ लाख ९९ हजार रुपैयाँ रहेकोमा उक्त रकमलाई २८ किस्तामा विभाजन गरिएको प्राधिकरणले जनाएको छ।
नेपाल विद्युत् प्राधिकरणले हाल उद्योगहरूबाट बक्यौता असुली अभियान सञ्चालन गरिरहेको छ। उक्त अभियान अन्तर्गत उद्योगहरूले किस्ताबन्दीमा रकम बुझाउन थालेका हुन्।






