काठमाडौं । नेपाली सेनाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ । सेनाका सहायक रथी एवं प्रवक्ता राजाराम बस्नेतका अनुसार, निर्वाचनका लागि बनाइएको एकीकृत सुरक्षा योजना २०८२ राष्ट्रपतिबाट अनुमोदित भइसकेको छ र सोहीअनुसार फौज परिचालन हुनेछ ।
बस्नेतले भने, “निर्वाचनको एक महिना अघिबाट फिल्डमा सेना परिचालन हुनेछ र मतदानका क्रममा तेस्रो घेरामा रही मतदाता, उम्मेदवार र निर्वाचन कर्मचारीको पूर्ण सुरक्षा सुनिश्चित गरिनेछ।”
निर्वाचनपूर्व सेनाको मुख्य जिम्मेवारी मतपत्र छपाइदेखि महत्वपूर्ण संरचनाको सुरक्षा हुनेछ भने मतदान सम्पन्न भएपछि मत पेटिका ढुवानी र मतगणनास्थलको सुरक्षा पनि सेनाले सम्हाल्नेछ ।
सेनाले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय प्रशासनसँग समन्वय गर्दै चार वटै सुरक्षा निकायसँग तालिम र अभ्यास सञ्चालन गर्नेछ । यसले निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न होस् भन्ने उद्देश्य राखिएको छ।
अहिलेसम्म प्रदेशस्तरमा सुरक्षा गोष्ठी सञ्चालन भइसकेको छ र प्राप्त सुझावका आधारमा थप सुरक्षा व्यवस्था मिलाइने सेनाले जनाएको छ ।





