काठमाडौं । भुजुङ्ग हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले जारी पुँजी १ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता सेयर निष्कासन गरेको हो ।
यसमध्ये १० लाख कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि, १ लाख कित्ता साधारण समूहका लागि छुट्याइएको छ ।यस्तै, कम्पनीका कर्मचारीका लागि २० हजार कित्ता र सामूहिक लगानी कोषका लागि ५० हजार कित्ता सेयर निष्कासन गरिएको छ । बाँकी ८ करोड ३० लाख रुपैयाँ बराबरको ८ लाख ३० हजार कित्ता सेयर सर्वसाधारणका लागि खुला गरिएको हो ।
आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । आवेदन माघ १५ गतेसम्म दिन सकिने र सो अवधिमा माग अनुसार आवेदन नपरेमा माघ २६ गतेसम्म म्याद थपिने कम्पनीले जनाएको छ ।
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आश्वा सदस्य बैंक तथा वित्तीय संस्था र ‘मेरो सेयर’ प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।





