काठमाडौं । देशका विभिन्न क्षेत्रमा निरन्तर वर्षासँगै आएको बाढी, पहिरो तथा सडक मर्मत कार्यका कारण प्रमुख राजमार्गहरूमा आवागमन प्रभावित भएको छ। शनिबार बिहान ११ बजेसम्मको अद्यावधिक विवरणअनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडक खण्डमा यातायात सेवा अवरुद्ध भएको छ भने केही स्थानमा एकतर्फी रूपमा मात्र सवारी सञ्चालन भइरहेको छ।
सबैभन्दा बढी असर कोशी प्रदेशमा देखिएको छ। पाँचथर जिल्लाको याङवरक गाउँपालिकाअन्तर्गत पर्ने मध्यपहाडी लोकमार्गमा जेठ ८ गते आएको बाढी र पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध बनेको छ। वडा नम्बर ३ को ओयाम बजार र रिजालभिर क्षेत्रमा पहिरो खसेको तथा वडा नम्बर २ को दोभान क्षेत्रमा बाढी आएपछि उक्त सडक खण्डमा यातायात सञ्चालन ठप्प भएको हो।
यस्तै, भोजपुर नगरपालिका–५ बोखिमस्थित मध्यपहाडी लोकमार्गमा बाढीले क्षति पुर्याएपछि अवरुद्ध बनेको सडक वैकल्पिक मार्गमार्फत एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ। संखुवासभाको मकालु गाउँपालिका–३ नयाँ बस्ती क्षेत्रमा खसेको पहिरोका कारण कोशी राजमार्ग पनि एकतर्फी रूपमा मात्रै सञ्चालन भइरहेको छ।
बागमती प्रदेशमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ र ४ अन्तर्गत महालक्ष्मी क्षेत्रमा सडक ढलानको काम सुरु गरिएकाले कुलेखानी–फाखेल–हुमाने–फर्पिङ–काठमाडौं सडक खण्ड करिब एक महिनाका लागि बन्द गरिएको छ। राजधानी प्रवेश गर्ने छोटो दूरीको मार्ग मानिने यो सडक खण्ड ढलान कार्य सम्पन्न नभएसम्म सञ्चालनमा नआउने जनाइएको छ।
त्यसैगरी, काभ्रेपलाञ्चोकस्थित खुर्कोट–नेपालथोक–कटुन्जेबेंसी हुँदै सञ्चालन हुने बीपी राजमार्गमा सम्भावित बाढी जोखिमलाई ध्यानमा राख्दै सवारी साधन सञ्चालन अस्थायी रूपमा रोकिएको छ।
गण्डकी प्रदेशमा पनि पहिरोका कारण यातायात प्रभावित भएको छ। म्याग्दी हुँदै मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक खण्डका जलथले, तल्लो बैसरी र उपल्लो बैसरी क्षेत्रमा खसेका पहिरो हटाइएपछि सडक एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ। स्याङ्जाको गल्याङ नगरपालिका–८ कराडीस्थित सिद्धार्थ राजमार्गमा शनिबार बिहान खसेको पहिरोका कारण पनि यातायात एकतर्फी रूपमा सञ्चालन भइरहेको छ।
त्यस्तै, कर्णाली प्रदेशको हुम्ला जिल्लामा सम्भावित पहिरोको जोखिमका कारण नाम्खा गाउँपालिका–२ अन्तर्गतको हिल्सा–सिमिकोट सडक खण्डमा सवारी साधन सञ्चालन पूर्ण रूपमा रोकिएको छ।
प्रहरी तथा सम्बन्धित निकायहरूले प्रभावित सडकहरूमा यात्रा गर्दा सावधानी अपनाउन तथा वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।



