काठमाडौं । नेपालमा रेमिट्यान्स (विप्रेषण) बढी भित्रने देशमा खाडी मुलुककै वर्चश्व देखिएको छ । केही समययता युरोप, अमेरिका लगायतका देशहरुबाट रेमिट्यान्स आउने क्रम बढेको र मलेसियाको रोजगारी अवरुद्व भएका कारण खाडीबाट रेमिट्यान्स घट्ने आँकलन गरिएको थियो । चालु आर्थिक वर्षको चार महिनाको तथ्यांकसहित नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको रेमिट्यान्ससम्बन्धी नयाँ अध्ययन प्रतिवेदनले खाडी मुलुकहरुबाट आउने विप्रेषण कुल विप्रेषणको ५०.३ प्रतिशत रहेको देखाएको छ ।
राष्ट्र बैंकको अनुसन्धान विभागका अनुसार खाडीको पनि कतारबाट सबभन्दा वढी (१७.७ प्रतिशत) विप्रेषण आएको छ । दोस्रोमा संयुक्त अरब इमिरेट्स (यूएई) बाट १३.४ प्रतिशत र तेस्रोमा साउदी अरेबिया १२.५ प्रतिशत विप्रेषण आएको देखिन्छ । मलेसियाबाट आएको विप्रेषणको हिस्सा ९.७ प्रतिशत मात्र छ । प्रमुख श्रम गन्तव्य मलेसियामा नेपाली कामदार जाने क्रम बन्द भएका कारण आव २०७५/०७६ मा त्यहाँबाट प्राप्त हुने विप्रषेण घटेको हो ।
नेपालको लागि विप्रेषणको स्रोत मुलुकको सूचीमा भारत दोस्रो स्थानमा उक्लिएको छ । समग्रमा हेर्दा पहिलोमा कतार दोस्रो स्थानमा भारत देखिएको छ । राष्ट्र बैंकले चालु आवको पहिलो चार महिनामा कतारबाट ५३ अर्ब ९३ करोड र भारतबाट ४३ अर्ब १६ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको देखाएको छ । यो अवधिमा कुल ३ खर्ब ४ अर्ब ९७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । यसमा कतारको हिस्सा १७ दशमलव ७ प्रतिशत र भारतको हिस्सा १४ दशमलव २ प्रतिशत छ ।
खुला सिमानाका कारण भारतमा रहेका नेपाली श्रमिकहरुको एकिन तथ्यांक निकाल्न मुश्किल छ । रेमिट्यान्स प्रवाहमा भने भारतको भूमिका महत्वपूर्ण देखिएको छ । अहिले धेरै रेमिट्यान्स नेपाल आउने मुलुकमध्ये तेस्रो नम्बरमा रहेको युएईबाट यो अवधिमा कुल ४० अर्ब ८७ करोड रुपैयाँ भित्रिएको छ । केहि वर्ष अघिसम्म पहिलो स्थानमा रहेको मलेसिया भने पाँचौ नम्बरमा पुगेको छ । यो अवधिमा कुल रेमिट्यान्सको २९ अर्ब ६६ करोड (९ दशमलव ७ प्रतिशत) मात्र मलेसियाबाट भित्रिएको छ । त्यस्तै, नेपाल भित्रिएको कुल रेमिट्यान्समा संयुक्त राज्य अमेरिकाको हिस्सा ८ दशमलव ३ प्रतिशत देखिएको छ ।





