गङ्गा दशहरा स्नान : पाप कट्ने धार्मिक विश्वास
काठमाडौँ । ज्येष्ठ शुक्ल प्रतिपदादेखि दशमीका दिनसम्म वाग्मतीलगायत देशभरका विभिन्न तीर्थमा लाग्ने गङ्गादशहरा स्नान मेला सुरु भएको छ ।
गोकर्णेश्वर नगरपालिका वडा नंं १ सुन्दरीजलस्थित वाग्मतीमा शैलमती मिसिएर बनेको तीर्थ सिद्धगयाको प्राकृतिक सुन्दरतालाई थप आकर्षक बनाइरहेका दुई झरनाको नजिकमा शनिबारदेखि नै स्नान गर्न भक्तजन भेला भएका छन् । यसै वर्षदेखि यहाँ व्यवस्थितरूपमा स्नान गर्ने व्यवस्था गरिएको छ । वाग्मती र शैलमतीको सङ्गममा गङ्गादशहरा स्नान गरी भगवान् शैलमतेश्वरको दर्शन गरेमा पापमोचन भई मुक्ति प्राप्त हुने धार्मिक विश्वास छ ।
दश प्रकारका पाप हरण गर्न ज्येष्ठ शुक्ल पक्षमा स्वर्गबाट पृथ्वीमा भागीरथीले गङ्गा अवतरण गराएको सम्झनामा देशभरका नदीमा दशहरा स्नान गरिन्छ । ज्येष्ठ शुक्ल पक्षका १० दिनमा गङ्गा वा नदी किनारमा गई स्नान गरेमा १० प्रकारका पाप नाश हुने धार्मिक विश्वास छ । कसैले नदिई कुनै वस्तु लिनु, विनायज्ञ हिंसा गर्नु, परस्त्री गमन गर्नु, कठोर वचन बोल्नु, असत्य बोल्नु, परनिन्दा गर्नु, बेमतलवको प्रलाप गर्नु, अरुको सम्पत्ति हडप्ने इच्छा राख्नु, अरुलाई हानी पु¥याउने इच्छा राख्नु र बिनाकारण दुराग्रह राख्नेजस्ता पाप दशहराका अवसरमा गङ्गा, त्रिवेणी वा नदीमा गई स्नान गरेमा नाश हुने शास्त्रीय मान्यता छ ।
सिद्धगयाका साथै काठमाडौँको हत्यामोचनघाट, रसुवाको गोसाइँकुण्ड, कपिलवस्तुको वाणगङ्गा, नवलपरासीको त्रिवेणीसङ्गमलगायत देशभरका नदीमा दशहरा स्नान मेला लाग्ने गर्दछ । शरीर, मन र वचनले गरिने १० प्रकारका पाप दशहराका अवसरमा स्नान गरेर नाश हुने विश्वासमा गङ्गा दशहरा भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिए ।
कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिकाको सङ्गमस्थित वाग्मती नदी किनारमा रहेको हत्यामोचनघाटमा पनि स्नान मेला लागेको गङ्गा दशहरा स्नान एवं पूजा समितिका अध्यक्ष रोहित लिम्बूले जानकारी दिए । पौराणिक कथाअनुसार परशुरामले पिता ऋषि जमदग्निको आदेशानुसार माता रेणुकाको हत्या गरेपछि यही स्थलमा स्नान गरी हत्याको पापमोचन गरेकाले यो स्थानलाई हत्यामोचनघाट भनिएको विभिन्न पुराणमा उल्लेख गरिएको छ ।
यसअघि परशुरामले भारत वर्षका हजारौँ तीर्थमा स्नान गर्दा पनि मातृ हत्याको पापमोचन भएको थिएन । पापमोचन स्वरुप परशुरामकी आमा रेणुकाले पुनर्जीवनसमेत पाएको पौराणिक कथन छ । दशहराका १० दिने अवधिमा जेठ महिना, शुक्ल पक्ष, दशमी तिथि, बुधबार, हस्ता नक्षत्रलगायत १० योग पर्ने गरेको छ ।
पौराणिककालमा यही १० दिन लगाएर स्वर्गबाट गङ्गा पृथ्वीमा अवतरण भएको शास्त्रीय मान्यता छ । गङ्गा किनारस्थित भारतको काशीको दशाश्वमेधघाटमा पनि यो १० दिने अवधिमा विशेष मेला लाग्छ । यसैगरी त्रेतायुगमा भगवान् रामले सेतुबन्धमा स्थापना गरेको रामेश्वरघाटमा यस अवसरमा मेला लाग्ने गर्छ । यी तीर्थमा स्नान गरी भगवान्को दर्शन गरेमा १० प्रकारको पाप नाश हुने धार्मिक विश्वास रहिआएको छ ।
सम्बन्धित समाचार
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य

