काठमाडौँ । यम शेर्पाको निर्देशनमा बन्ने फिल्म ‘कार्साङ’मा अभिनेत्री सुरक्षा पन्त अनुबन्धित भएकी छन् । यार्सा फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्ममा मुख्य अभिनेताका रूपमा दयाहाङ राई, बुद्धि तामाङ फाइनल भइसकेका छन्। यस्तै, नवनायिकाका रूपमा छिरिङ शेर्पा अनुबन्धित भइसकेकी छन् ।
शेर्पा जातिको सामाजिक कथावस्तुमा निर्माण हुन सुरक्षा अनुबन्धित भएसँगै प्रमुख कलाकारहरूको लाइनअप पुरा हुन लागेको निर्देशक शेर्पाले जानकारी दिए । निर्देशक शेर्पाको यो डेब्यू निर्देशकीय फिल्म हो। फिल्ममा उनी स्वयंको लेखन (कथा, पटकथा तथा संवाद) रहेको छ। यसअघि शेर्पाले थुप्रै सर्ट फिल्मको निर्देशन गरिसकेका छन् ।
फिल्मका अन्य कलाकार तथा प्राविधिक चाँडै फाइनल गरिने निर्देशक शेर्पाले बताए। बाँकी कलाकार अडिसनमार्फत् छनोट गरिने बताइएको छ । पुरुषोत्तम प्रधानको छायांकन रहने फिल्ममा उनी निर्माताका रूपमा पनि जोडिएका छन्। तिहारलगत्तै यस फिल्मको बाह्रबिसे नगरपालिका र बाँकी भोटेकोसी गाउँपालिका विभिन्न स्थानमा छायाकंन गरिने निमार्ण पक्षले बताएको छ ।
फिल्म ‘कार्साङ’को ओभरसिज राइट्स छायाकंन अगावै महँगो रकममा बिक्री पनि भइसकेको छ । यो फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा सेभेन सिज इन्टरटेनमेन्ट कम्पनीले रिलिज गर्ने भएको हो । फिल्मको निर्माण पक्ष र सेभेन सिज कम्पनीबीच केही दिनअघि आधिकारिक सम्झौता भइसकेको छ ।
फिल्मको देशभर वितरणको जिम्मेवारी आरआर फिल्म्स (रोहित-रत्न)ले लिएको छ । ओभरसिज राइट्स बिक्री भएसँगै नेपाल र विदेश एकसाथ फिल्मलाई प्रदर्शन गर्ने निर्देशक शेर्पा बताउछन् ।