एजेन्सी । स्वादिष्ट र पोषणले भरिपूर्ण अण्डा प्रोटिनको राम्रो स्रोत मानिन्छ । तर यसलाई खानुअघि केही कुरामा ध्यान दिइएन भने तपाईँको स्वास्थ्यलाई गम्भीर असर समेत गर्न सक्छ । विज्ञका अनुसार केही अण्डामा पाइने खतरनाक ब्याक्टेरियाले मानिसलाई गम्भीर बिरामी बनाउन सक्छ । यसकारण यसलाई फ्राई गर्नु वा उसिन्नुअघि स्वस्थ छ या छैन, राम्रोसँग हेर्नुपर्छ ।
यूएस डिपार्टमेन्ट अफ एग्रिकल्चरले ब्याक्टेरिया भएको अण्डा पहिचान गर्ने तरिका बताएको छ । जसअनुसार यदि अण्डाको सेतो भागमा गुलाबी रंग देखिएको छ भने यसलाई फ्याँकिदिनु नै उत्तम हुन्छ । अण्डाको सामान्य रंगमा परिवर्तन स्यूडोमोनास ब्याक्टेरियाको संकेत हो । यस ब्याक्टेरियाबाट संक्रमित अण्डा खानाले तपाईँलाई फुड पोइजनिङ हुन सक्छ । साथै यस ब्याक्टेरियाले गम्भीर बिरामी पनि बनाउन सक्छ ।
यो ब्याक्टेरियाले अण्डामा हल्का हरियो रंग र पानीमा घुलनशील तरल निर्माण गर्दछ । यदि अण्डाको सेतो भागमा कुनै परिवर्तन देखिएको छ भने यसलाई नखानुहोस् । एक अध्ययन अनुसारा अण्डामा गुलाबी वा इन्द्रधनुष रंग देखियो भने यसलाई फ्याँकिदिनुहोस् । यो अण्डा स्यूडोमोनास ब्याक्टेरियाबाट संक्रमित हुन सक्छ । रंग बाहेक अर्को तरिकाबाट पनि तपाईँ स्वस्थ अण्डा पहिचान गर्न सक्नुहुन्छ ।
पोल्ट्री साइन्समा प्रकाशित एक अध्ययन अनुसार बिग्रेको अण्डा अमिलो, बासी वा फल जस्तो गन्ध आउँछ । यद्यपी अण्डाको सेतो रंग परिवर्तन सधैँ खराब हुन्छ भन्ने हुँदैन । अनुसन्धान अनुसार कयौँ पटक अण्डाको रंग कुखुराको डाइटमा पनि निर्भर हुन्छ । खाद्य प्राधिकरण विशेषज्ञका अनुसार यदि कुखुरालाई पहेँलो वा सप्तरंगी खानेकुरा मिल्छ भने पनि अण्डाको रंग गाढा पहेँलो हुन्छ ।
विज्ञका अनुसार अण्डालाई त्यही कार्टुनमा राख्नुपर्छ, जुन कार्टुनमा हामीले खरिद गर्छौँ । यसलाई फ्रिजमा राख्दा केही कुरामा ध्यान दिनुपर्छ । फ्रिजमा अण्डालाई ४५ डिग्री फरेनहाइट वा त्योभन्दा कम तापक्रममा राख्नुपर्छ । तापक्रम मिलाउँदा अण्डा बिग्रिने जोखिम कम हुन्छ ।