एजेन्सी । आज प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डे । यो दिवसलाई विश्वभर आपसमा प्रेमभावपूर्ण उपहार साटासाट गरेर मनाइँदैछ । हरेक वर्ष १४ फेब्रुअरीका दिन प्रेमी प्रेमिकासँगै आफन्त र परिवारजनमा प्रेम, सद्भाव र भातृत्व साटासाट गरी प्रणय दिवस मनाउने गरिन्छ ।
विशेष गरी युवायुवतीले प्रेम प्रस्ताव राख्ने र आपसमा प्रेमभाव प्रस्तुत गर्ने पर्वकै रूपमा प्रणय दिवस मनाइन्छ । युवायुवतीले प्रेमप्रेमिकालाई प्रेमको प्रतीक गुलाबको फूल उपहार दिएर प्रेमभाव साटासाट गर्ने गर्दछन् ।
युवापुस्तामा बढी लोकप्रिय रहेको यो दिवसमा नयाँ प्रेमी प्रेमिकाले प्रेम प्रस्ताव राख्ने दिनका रूपमा लिने गरेका छन् । प्रेमभक्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा मनाउन थालिएको यो दिवस नेपालमा पनि चर्चित रहेको छ ।
यसरी मनाउन थालियो भ्यालेन्टाइन डे
हाल विश्वभर युवायुवतीले विशेष महत्वका साथ मनाउने भ्यालेन्टाइन डेको सुरुवात प्राचिन रोमनबाट सुरु भएको मानिन्छ । मध्य युगमा इंग्ल्याण्ड र फ्रान्समा १४ फेब्रुअरीका दिनदेखि चराले आफ्नो जोडीको खोजी गर्न सुरु गर्ने तथा प्रेममा लिप्त भएर सम्भोग गर्छन् भन्ने धारणा थियो ।
यस्तै, प्राचिन रोमनमा महिला र विवाहकी देवीलाई सम्मान गर्दै यो दिन उत्सव मनाउने गरिन्थ्यो भन्ने किम्बदन्ती छ । यी यस्तै धेरै किम्बदन्तीको संयुक्त प्रभावबाट प्रेम दिवसको सुरुवात भएको हो ।
विशेष गरी भ्यालेन्टाइन डे को औपचारिक सुरुवात इस्वी सम्बत २६९ रोमनबाट सुरु भएको हो । यो दिवससँग एउटा दुखान्त प्रेम कथा जोडिएको छ । तत्कालिन रोमन सम्राट क्लोडियस द्धितियले आफ्ना सैनिकलाई प्रेम तथा विवाह गर्न रोक लाएका थिए ।
प्रेम तथा विवाहले सैनिक कमजोर हुन्छन् तथा युद्धसँग सम्बन्धित गोप्य सूचना बाहिर सार्वजनिक हुन्छ भन्ने धारणाले सम्राट क्लोडियसले प्रेम तथा विवाहमा रोक लगाएका थिए । तर, सम्राटको नियम मन नपराउने मध्ये रोमनका पादरी सन्त भ्यालेन्टाइनले प्रेमको पक्षमा आवाज उठाए ।
उनले प्रतिबन्ध उल्लंघन गर्दै धेरै सैनिकको सार्वजनिक रूपमा विवाह गराए । सम्राटले उनलाई पक्राउ गरी मृत्युदण्डको सजाय सुनाएर जेलमा राखे । जेलमा रहँदा सन्त भ्यालेन्टाइनको जेलरकी दृष्टिविहीन छोरीसँग माया बस्यो ।
आफूलाई मृत्युदण्ड दिनुअघि सन्त भ्यालेन्टाइनले लभ फ्रम योर भ्यालेन्टाइन भन्ने हस्ताक्षरसहितको प्रेम पत्र आफ्नी प्रेमिका अर्थात् जेरकी छोरीलाई दिएका थिए । उनले आफ्ना दुवै आँखा प्रेमिकालाई दिएर मृत्युदण्ड स्वीकार गरेका थिए ।
उनलाई सन् २६९ को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । यही दिनको सम्झनामा सन्त भ्यालेन्टाइन प्रेमका लागि गरेको त्यागको सम्झना गर्दै विश्वभर हरेक वर्ष १४ फेब्रुअरीमा भ्यालेन्टाइन डे मनाउने गरिएको हो ।






