लुम्बिनी । मुसिकोट नगरपालिका ४ दिगामचौरका एकै परिवारका तीन जना विषालु च्याउ खाँदा बिरामी परेका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले दिएको जानकारी अनुसार ६८ वर्षीया फूलमाया कुमाल, ७६ वर्षीय थम्मनबहादुर कुमाल र ३६ वर्षीया गीता कुमालले जङ्गलबाट टिपेर ल्याएको च्याउ पकाएर खाएका थिए ।
च्याउ सेवन गरेपछि ती तीनै जनालाई बिहीबार राति टाउको दुख्ने, रिङ्गाटा लाग्ने, बान्ता हुने जस्ता लक्षण देखिएको थियो । अवस्था नाजुक देखिएपछि प्रहरीले तत्कालै उनीहरूलाई पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका लागि पठाएको छ ।
इन्द्रगौडा प्रहरी पोष्टबाट प्रहरी हवल्दार कृष्णमोहन केवटको नेतृत्वमा खटिएको टोलीले घटनाको जानकारी पाए लगत्तै तत्कालै बिरामीहरूलाई अस्पताल पुर्याएको जनाएको छ । प्रहरीका अनुसार उनीहरूको अवस्था अहिले सामान्य छ र थप उपचार भइरहेको छ ।