काठमाडौं । सरकारले जापानमा प्रशिक्षार्थी कामदार पठाउने निर्देशिका खारेज गरेको छ । निर्देशिका खारेज भएसँगै सबै म्यानपावर कम्पनीले श्रमिक पठाउन पाउने बाटो खुलेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘जापानमा प्राविधिक (अभ्यासार्थी) कामदार पठाउने निर्देशिका २०६६’ जारी गरेको थियो । सोही आधारमा ‘जापान इन्टरनेसल ट्रेनिङ कोअपरेसन अर्गनाइजेसन’ (जिट्को) मार्फत नेपाली श्रमिकलाई सूचीकृत म्यानपावर कम्पनीले जापानमा काम गर्न पठाउने गर्दथे । तर, सरकारले सो निर्देशिका नै खारेज गरेको छ ।
सरकारले ‘टेक्निकल इन्टर्न ट्रेनिङ प्रोग्राम’मार्फत नेपालबाट प्रशिक्षार्थी श्रमिक जापान गइरहेकोले निर्देशिका आवश्यक नभएको भन्दै खारेज निर्देशिका खारेज गरेको मन्त्रालयले जनाएको छ ।
निर्देशिकाले तोकेका निश्चित मेनपावर कम्पनीहरूलाई मात्र सूचीकृत गरेर उनीहरूकै माध्यमबाट श्रमिक पठाउने प्रावधान थियो । तर अब निर्देशिका खारेज भएपछि अन्य गन्तव्य मुलुकहरूझैं सबै मान्यता प्राप्त मेनपावर कम्पनीहरूले स्वतन्त्र रूपमा जापानमा श्रमिक पठाउन सक्नेछन् ।
जापानले टीआईटीपी समेत खारेज गरेर सन् २०२७ देखि ‘इम्प्लोयमेन्ट फर स्किल डेभलपमेन्ट’ (ईएसडी) कार्यक्रम ल्याउँदै छ । सोही ईएसडी अन्तर्गत कामदार लैजाने तयारी जापानको छ । तर, नेपालमा हालसम्म पनि जिट्को अन्तर्गत टीआईटीपी मार्फत नै कामदार पठाउने गरिएको छ ।
निर्देशिका खारेज गरेर सबै म्यानपावर व्यवसायी मार्फत कामदार पठाउन पाउने व्यवस्था गर्न व्यवसायीले माग गर्दै आएका थिए । सोही अनुसार निर्देशिका खारेज गरेर अब सबै म्यानपावर व्यवसायीले सहज कामदार पठाउन पाउने मन्त्रालयले जनाएको छ ।





