Jankari Kendra
१० श्रावण २०८३, आईतवार
Worldlink

राष्ट्रिय चरणतर्फ प्रवेश गर्दै ग्लोबल म्याथ डिबेट लिग

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८२, फाल्गुन, ४
राष्ट्रिय चरणतर्फ प्रवेश गर्दै ग्लोबल म्याथ डिबेट लिग

काठमाडौँ । नेपालमा शैक्षिक प्रतिस्पर्धाको स्वरूप परिवर्तन हुँदै आएको छ । ग्लोबल म्याथ डिबेट लिग ले झापा र चितवनपछि लुम्बिनी क्षेत्रीय चरण सम्पन्न गरेको छ। अब प्रतियोगिता पोखरा र काठमाडौंमा आयोजना हुँदै राष्ट्रिय चरणतर्फ अघि बढ्ने बताइएको छ। आयोजकका अनुसार यो प्रतिस्पर्धा गणितका प्रश्नहरु समाधान गर्ने मात्र होइन, गणितका विषयमा तर्क–बहस गर्ने नेपालको पहिलो औपचारिक मञ्च हो।

यो पहल ‘एम्बार्क अनम्याथ’ ले अघि बढाएको जनाइएको छ । यस संस्थाले गणितलाई केवल सूत्रअनुसार समाधान गर्ने विषयबाट तर्क, विश्लेषण र विचार अभिव्यक्तिको अभ्यासका रूपमा स्थापित गर्न खोजेको छ । यहाँ विद्यार्थीहरूले उत्तर दिनु मात्र होइन, आफ्नो तर्क स्पष्ट पार्न, प्रतिस्पर्धीको धारणाको समीक्षा गर्न र प्रतितर्क दिन पनि सक्नु पर्ने हुन्छ ।

कण्ठस्थ अभ्यासलाई चुनौतीः परम्परागत रूपमा विद्यालयहरूमा सही उत्तर र छिटो समाधानलाई बढी महत्व दिइँदै आएको बताइएको छ । तर यस लिगमा स्पष्ट सोच र गहिरो तर्कलाई प्राथमिकता दिइन्छ । विद्यार्थीहरूले गणितका विषयमा खोज–अनुसन्धान गर्छन्, आफ्नो तर्क मिलाएर प्रस्तुत गर्छन् र प्रतिवादमा भाग लिन्छन्। निर्णायकहरूले तर्क कति मिलेको छ, परिस्थिति अनुसार कति सुधार गर्न सक्छन् र टोलीमा कत्तिको सहकार्य छ भन्ने आधारमा मूल्याङ्कन गर्छन्।

लुम्बिनी चरण र विजेता टोलीः लुम्बिनी क्षेत्रीय चरण लुम्बिनी वल्र्ड स्कूलको सह–आयोजनमा सम्पन्न भएको थियो । विद्यालयले कार्यक्रम व्यवस्थापन र सञ्चालनको जिम्मेवारी सम्हालेको थिया।

प्रतिस्पर्धापछि अल्फा समूहमा लुम्बिनी वल्र्ड स्कूलका एशिया बेलबासे, मानवी खनाल र रिओना उदया विजयी भए । बेटा समूहमा न्यू होराइजन इङ्ग्लिस बोर्डिङ सेकेन्डरी स्कूलका आसा पाण्डे, समीप न्यौपाने र अग्रिमा अधिकारी सफल भए । त्यसैगरी प्रस्तुति नेपाल, साम्राज्ञी बेलबासे र प्रेक्षा खनाल राष्ट्रिय चरणका लागि छनोट भएका छन्।

निर्णायकहरूका अनुसार विजेता टोलीहरू चुनौती आएपछि आफ्ना तर्क सुधार्न सक्ने क्षमताका कारण अगाडि देखिएका हुन् । क्षेत्रीय चरणबाट छनोट भएका विद्यार्थीहरूले फेब्रुअरी २२ मा ‘द प्लाजा’ मा हुने राष्ट्रिय प्रतिस्पर्धामा भाग लिनेछन् ।

मूल्याङ्कन संस्कृतिमा नयाँ संकेतः यस लिगको मुख्य महत्व यसको कार्यविधिमा छ । जहाँ परम्परागत प्रणालीले अन्तिम उत्तरलाई प्राथमिकता दिन्छ, त्यहाँ यस प्रतियोगिताले उत्तरको औचित्य र तर्कलाई महत्व दिएको बताइएको छ।

झापा, चितवन र लुम्बिनीपछि अब पोखरा र काठमाडौंमा आयोजना हुँदै प्रतियोगिता राष्ट्रिय शैक्षिक सर्किटका रूपमा विस्तार हुँदैछ । अब प्रश्न केवल गणना गर्न सक्ने क्षमताको होइन, आफ्नो तर्क विश्वस्त रूपमा प्रस्तुत गर्न सक्ने क्षमताको पनि हो । यही सोचका साथ गणित बहस लिग अघि बढिरहेको जनाइएको  छ ।

Top Changing Nepal

युट्युब सट्स