काठमाडौं । नेपालको हिमाली भेगमा बसोबास गर्ने शेर्पा समुदायले आज हर्षोल्लासका साथ ग्याल्पो ल्होसार पर्व मनाइरहेका छन्। ‘ल्हो’ अर्थात् वर्ष र ‘छार’ अर्थात् नयाँ भन्ने अर्थ लाग्ने यस पर्वलाई शेर्पा समुदायले नयाँ वर्षका रूपमा मनाउने परम्परा रहेको छ।
महायान बौद्ध परम्पराअनुसार चन्द्रमासको गणनामा फागुन शुक्लपक्ष प्रतिपदादेखि नयाँ वर्ष सुरु हुने विश्वास गरिन्छ। सोही विश्वासअनुसार आज देशभरका शेर्पा बस्तीमा विविध सांस्कृतिक कार्यक्रम, पूजाआजा र पारिवारिक जमघट गर्दै मनाउँदै छन्।
पर्वको अवसरमा गाउँघर, टोल तथा सार्वजनिक स्थानको सरसफाइ गर्ने, पानीका मूलहरू सफा राख्ने, नौ प्रकारका अन्न मिसाएर बनाइने परिकार ‘गुथुक’ तथा विशेष परिकार ‘खाप्से’ तयार गरी खाने चलन रहेको छ। परिवारजन तथा आफन्तबीच शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षलाई स्वागत गर्ने परम्परा रहेको छ ।
यस अवसरमा गुम्बा दर्शन गर्ने, धर्मगुरु तथा लामाबाट आशीर्वाद लिने, परम्परागत पोशाकमा सजिएर सांस्कृतिक नृत्य प्रस्तुत गर्ने चलन पनि रहेको छ। विशेषगरी स्याब्रु नृत्य र तुङ्गना (डम्याङ) को मधुर धुनले पर्वलाई थप रौनकपूर्ण समय बनाउने उनीहरुको मौलिक पहिचान हो ।
नयाँ आशा, उमङ्ग र उल्लास बोकेर आउने ग्याल्पो ल्होसारले समाजमा आपसी प्रेम, सद्भाव, भाइचारा र एकताको भावना अझ सुदृढ बनाउने विश्वास गरिएको छ। पारिवारिक तथा सामाजिक सम्बन्धलाई प्रगाढ बनाउँदै सहकार्य र समझदारीको वातावरण सृजना गर्ने पर्वका रूपमा ग्याल्पो ल्होसारलाई लिइन्छ।

