काठमाडौँ । वैशाख १४ गते सोमबारबाट देशभर कक्षा १२ को वार्षिक परीक्षा सुरु हुँदैँछ । राष्ट्रिय परीक्षा बोर्डकका अनुसार यस वर्ष कुल ४ लाख १८ हजार ८ जना विद्यार्थी परीक्षा दिन तयारी अवस्थामा छन् ।
यसपटक नियमिततर्फ ३ लाख ३२ हजार १ सय ७८ विद्यार्थी सहभागी हुनेछन भने ८५ हजार ८ सय ३० जना आंशिकतर्फ समावेश रहेका छन् । त्यस्तैगरी जापानस्थित एभरेष्ट स्कुलबाट पनि ३६ जना विद्यार्थीले परीक्षा दिने भएका छन् । परिक्षाका लागि देशभर १ हजार ४ सय २१ केन्द्र निर्धारण गरिएको छ । गत वर्षको तुलनामा यस वर्ष परीक्षार्थीको संख्या पनि घटेकाले केन्द्र संख्या पनि घटाइएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको ,छ ।
अघिल्लो वर्ष ५ लाखभन्दा बढी विद्यार्थी सहभागी भएकोमा यस वर्ष संख्या घट्नुको कारण अघिल्ला नतिजामा आएको सुधारलाई मानिएको छ । गत वर्ष सार्वजनिक नतिजाअनुासर करिब ६१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए भने जुन अघिल्ला वर्षहरुको तुलनामा सुधारिएको तथ्यांक हो ।
यस वर्षको परीक्षा व्यवस्थित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने तयारी गरिएको सम्बन्धित निकायले जनाएको छ ।


