भारु प्रतिबन्धले कैयौं व्यापारी डुब्नसक्ने
प्रतिबन्धित ५ सय र हजारका नोट सटहीबारे आधिकारिक निर्णय सार्वजनिक नहुँदा जनस्तरमै चिन्ता गहिरिएको छ । नोट प्रतिबन्धित भएको तेस्रो दिनसम्म यहा“ भएका नोट सटही हुने वा काम नलाग्ने के हुने भन्ने अन्योल छ । राजधानीमा मात्रै १ अर्ब रुपैयाँभन्दा बढी प्रतिबन्धित नोट रहेको अनुमान छ ।
‘मसँगै २५ लाखको प्रतिबन्धित नोट छ’, न्युरोडका एक व्यवसायीले भने, ‘नोट साटिएन भने मेरो आर्थिक अवस्था डामाडोल हुन्छ ।’ व्यापारीले भारतीयस“ग गर्ने कारोबारको भुक्तानीका लागि भारु नोट राख्छन् । भारत जाँदा सहजै नपाइएला भन्दै भारु राख्ने चलन काठमाडौंमा छ । उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाका अनुसार व्यवसायीसँग ८/१० लाख भारु हुनु सामान्य हो । ‘दैनिक काम चलाउन पनि भारु राख्नुपर्ने बाध्यता छ’, उनले भने । भारतका सबै ठाउँमा एटीएम चल्दैन ।
आफूलाई चाहिएको बेला सजिलै भारु सटही गर्न पाइन्न । त्यसैले भारु टन्न हुँदा ढुक्क र नहुँदा तनाव हुने गरेको उनले बताए । भारतले नेपाली नागरिकलाई २५ हजार भारुसम्म बोक्न छूट दिएको छ । यसैले भारतले आफूले छूट दिएबराबरको रकममात्र सटही गर्छ कि नेपालमा भएजति सबै गर्छ भन्ने अन्योल छ ।
‘आफूले बोक्न छूट दिएबराबरको नोट मात्रै साट्ने व्यवस्था मिलाउँछ वा अन्य निर्णय गर्छ भन्ने अन्योल छ’, अर्थसचिव शान्तराज सुवेदीले भने । भारतको गाइडलाइनका आधारमा नोट साटिनेमा राष्ट्र बैंक विश्वस्त भए पनि निर्णय नदिएसम्म केही भन्न सक्ने अवस्थामा ऊ पनि छैन । ‘भरसक नेपालमा भएजति सबै प्रतिबन्धित नोट साट्ने व्यवस्था मिलाउने, नभए उनीहरूले नेपालीलाई बोक्न छूट दिएको सटही गराउने प्रयासमा हामी हुनेछौं’, बैंक स्रोतले भन्यो ।
राष्ट्र बैंकले काठमाडौंस्थित दूतावासलाई बुधबारै पत्राचार गरी उसले छूट दिएबराबरको सटही सुविधा नेपालीलाई दिन अनुरोध गरिसकेको छ । भारतका विभिन्न स्थानमा नगदै चल्ने भएकाले भारत गइरहनुपर्नेस“ग धेरै भारु छ ।
भारतमा खाता भएका व्यवसायी तथा अन्य कामकाजीलाई अप्ठ्यारो नपारे पनि खाता नहुने चिन्तामा छन् । भारतीय सीमानजिकका ठाउँमा भारु निकै चलनचल्तीमा भएकाले उनीहरू बढी चिन्तामा छन् । सरकारले प्रतिबन्धित नोटको अवस्थाका बारेमा तत्काल नागरिकलाई सुसूचित गरी सटही गर्न सुरु गर्नुपर्ने मुरारकाले बताए ।
उनले प्रतिबन्धित नोट हुने लाखौं नागरिक चिन्तामा रहेकाले सरकारले तत्काल अवस्था प्रस्ट पार्नुपर्नेमा जोड दिएका छन् । कतिपय व्यवसायीले आफूसँग भएका उक्त दरका भारतीय नोट साट्न विभिन्न माध्यम खोजिरहेका छन् भने कतिपय व्यवसायी आफन्तलाई आफूसँग भएको रकम जिम्मा लगाउन बाध्य छन् ।
भारतले प्रतिव्यक्ति ४ हजारका दरले नोट साट्ने व्यवस्था मिलाइसकेको छ भने त्यसभन्दा बढी भएकाले स्रोत खुलाएर बैंकमा जति पनि डिपोजिट गर्न पाउने व्यवस्था गरेको छ । वैधानिक तरिकाबाट आर्जित धन खोस्टो होला भनेर कुनै चिन्ता गर्नुपर्ने अवस्था छैन । नेपालमा पनि भारतकै जस्तो व्यवस्था सुरु गर्न महासंघले माग गरेको छ ।
अन्नपूर्णपोष्टबाट
सम्बन्धित समाचार
सुनको मूल्यमा उच्च वृद्धि, चाँदी पनि महँगियो
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
उपायको तीव्र विस्तार : एक वर्षमै ५४ प्रतिशत कारोबार वृद्धि, १५ सय भन्दा बढी रोजगारी सिर्जना
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
सुनको मूल्य एकैदिन प्रतितोला ५ हजार ८ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
ट्रेन्डिङ
अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो
नवप्रवर्तन, अनुसन्धान र कृत्रिम बुद्धिमत्तामा लगानी बढाउनुपर्छ: एनसीसी अध्यक्ष अग्रवाल
२०८३ साउन ११ गते सोमबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ
ज्योतिर्मयी बनिन ‘इन्डियन आइडल १६’ को बिजेता

