बीबीसी । दुई दशकअघि डिसेम्बर २४ तारिखमा काठमाण्डूबाट दिल्लीको निम्ति उडेको इन्डियन एअरलाइन्सको विमान अपहरणमा परेपछि त्यसले नेपाल र भारतको सम्बन्धमा सुरक्षा अवधारणालाई केन्द्रमा ल्याइदिएको मानिन्छ । उक्त घटनापछि भारतीय सञ्चारमाध्यममा नेपालको सुरक्षा व्यवस्थाबारे निकै नकारात्मक टिप्पणीहरू भएका थिए ।
‘हुन त सो विमानलाई अपहरण गरेर पहिले भारतकै अमृतसर लगिएको थियो । त्यहाँ भारतले नियन्त्रण गर्न सकेन । तर समग्र सुरक्षा कमजोरीको दोष नेपालमाथि थोपरिएको थियो,’ भारतमा लामो समय काम गरेका पत्रकार युवराज घिमिरे भन्छन् । ‘त्यस घटनापछि नेपालसँगको सम्बन्धमा भारतले सुरक्षा अवधारणालाई हावी गराएको पक्कै हो ।’ त्यतिखेर भारतीय सेनाका अवकाशप्राप्त मेजर जनरल अशोक मेहता नेपालमै थिए ।
अपहरणको घटनापछि विकसित घटनाक्रम सम्झिँदै उनी भन्छन्, ‘त्यो बेला त भारत सरकारले नेपालको विमानस्थलको सुरक्षालाई लिएर निकै आलोचना गरेको थियो । मेरो आफ्नै अनुभवमा पनि त्यो समयमा नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा एकदम कमजोर थियो । यहाँसम्म कि आगमन र प्रस्थानसमेत छुट्ट्याइएको थिएन ।’ इस्लामवादी आतङ्कवादीहरूले काठमाण्डूबाट उडेको आईसी ८१४ जहाजलाई अपहरण गरेर अमृतसर, लाहोर, अनि दुबई हुँदै अफगानिस्तानको कान्दहारमा पुर्याएका थिए ।
तत्कालीन भारतीय विदेशमन्त्री जसवन्त सिंह आफैँ कान्दहारले पुगेर अपहरणकारीहरूको मागबमोजिम भारतीय जेलमा रहेका तीन बन्दीलाई बुझाएर यात्रुहरूलाई मुक्त गराएका थिए । त्यो घटनालाई भारतीय संस्थापनले नमिठो धक्काको रूपमा लिने गरेको छ । त्यस बेला मुक्त गराइएकामध्ये एक मसूद अजहरले पछि जैश-ए-मोहम्मद नामक लडाकु समूह खोले । उनीमाथि सन् २००१ को भारतीय संसद्मा भएको आक्रमण र सन् २०१९ मा कश्मीरको पुलवामामा भएको आक्रमणको आरोप लागेको छ ।
तनावपूर्ण समय
विमान अपहरणको समयमा दिल्लीस्थित नेपाली दूतावासमा मदनकुमार भट्टराई उपप्रमुख थिए । राजदूत भेषबहादुर थापा दिल्लीबाहिर गएकाले त्यति बेलाको तनावपूर्ण परिस्थिति उनैले सम्हाल्नु परेको थियो । ‘विमान अपहरण भएको झन्डै १५ मिनेटमै मैले जानकारी पाएँ । राजदूत थापाको अनुपस्थितिमा मैले नै सबै सम्हाल्नुपरेको थियो ।’ ‘एक सातापछि यात्रुहरू रिहा भएर दिल्ली आइपुगे । नेपाली यात्रुहरूलाई हामीले दूतावासमै राखेर परिवारसँग सम्पर्क गरायौँ अनि स्वदेश पठाइदियौँ,’ भट्टराई सम्झिन्छन् । नेपालको कमजोर सुरक्षाका कारण विमान अपहरण भयो भनेर भारतमा व्यापक धारणा बनेको थियो ।
राजाको जन्मोत्सव नै सारियो
त्यस विषम परिस्थितिको प्रभाव आधिकारिक तहमा पनि धेरथोर पर्ने नै भयो । सन् १९९९ डिसेम्बर २४ तारिखमा अपहरण भएको विमान डिसेम्बर ३१ मा छाडियो । तर डिसेम्बर २९ मा राजा वीरेन्द्रको जन्मोत्सवको बेला पारेर दूतावासमा राष्ट्रिय दिवस मनाउने पूर्वनिर्धारित कार्यक्रय थियो । भट्टराईका अनुसार अपहरण भएकै बेला कार्यक्रम गर्दा भारतीय पाहुनाहरूको उपस्थिति कम हुने आशङ्का एकातिर थियो भने त्यही बेला भारतका पूर्व राष्ट्रपति शङ्करदयाल शर्माको पनि निधन भएको थियो ।
‘त्यसैले हामीले राष्ट्रिय दिवसको समारोह नै पछाडि सारेर ज्यानुअरी ४ मा गर्नुपरेको थियो,’ भट्टराई भन्छन् । समारोहमा उपराष्ट्रपति कृषनकान्तलाई निमन्त्रणा पठाइएको थियो । ‘अनेक किसिमका हल्लाहरू चलिरहेका थिए । सुरुमा त उपराष्ट्रपति हाम्रो समारोहमा नआउने जानकारी आएको थियो । पछि फेरि वहाँ आउनुभयो,’ भट्टराई सम्झिन्छन् । ‘उपराष्ट्रपति कृषनकान्तले नेपालबाट यस्तो होला भनेर हामीले अपेक्षा गरेका थिएनौँ, हामी दु:खी छौँ भन्नुभएको थियो । संयोगवश त्यतिखेरै आइपुगेका भारतकै भूतपूर्व विदेशसचिव त्रिलोकीनाथ कौलले भारतकै अमृतसर आइसकेको विमान त्यसरी उडेर जाला भनेर आफूले पनि अपेक्षा नगरेको भन्दिनुभयो । त्यसपछि वातावरण अन्यत्रै मोडियो ।’
अपहरणपछिका ‘किस्सा’
नेपालको विमानस्थलको सुरक्षाबारे भएका व्यापक आलोचनाका कारण त्यसपश्चात् सुरक्षा व्यवस्थामा निकै परिवर्तन भयो । भारतले आफ्ना विमानहरूमा अझै थप सुरक्षाको माग गर्न थाल्यो । ‘भारतीयहरूले काठमाण्डूमा आफ्नो विमान अपहरणमा परेको हुनाले उनीहरूका विमानसेवामा बढी सुरक्षा हुनुपर्यो भन्ने चासो राख्न थाले,’ पूर्वगृहसचिव श्रीकान्त रेग्मीले बताउँछन् । त्यही बेलादेखि नेपालमा एउटा नयाँ चलन सुरु भयो । भारतीय विमानहरूले त्यहाँ विमान चढ्ने भर्याङमै थप एक चरणको सुरक्षाजाँच गर्छन् ।
‘त्यतिखेर विवाद भएपछि नेपाल सरकारले विमानस्थलको भूमिभन्दा केही फिट माथि चेकजाँच गर्न अनुमति दियो । थप जाँचको लागि राखिएको त्यस्ता ल्याडरपोइन्ट सुरक्षा अहिले पनि जारी छ,’ भारतीय सुरक्षाविद् अशोक मेहता भन्छन् । उनका अनुसार अपहरणपछि सुरक्षाको धेरै चिन्ता गरिए पनि अहिले भने काठमाण्डू विमानस्थलको सुरक्षा निकै सुध्रिसकेको छ । तर अझै पनि सुरक्षा संवेदनशीलता भने उस्तै छ ।





