Jankari Kendra
२३ आश्विन २०८३, शुक्रबार

खुल्यो भन्सार एजेन्टको लाइसेन्स, ६६० जना माग

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७७, चैत्र, १६
खुल्यो भन्सार एजेन्टको लाइसेन्स, ६६० जना माग

काठमाडौं । करिब २० वर्षपछि भन्सार एजेन्टको लाइसेन्स वितरणका लागि विज्ञापन खुलेको छ । अर्थ मन्त्रालय भन्सार विभागले आज सार्वजनिक सूचना जारी गर्दै भन्सार एजेन्टको इजाजत लिन इच्छुक व्यक्तिका लागि अनलाइन दरखास्त आह्वान गरेको छ ।

गोरखापत्रमा सार्वजनिक गरिएको सूचनामा भन्सार नियमावली, २०६४ को नियम ३७ को उपनियम (१) बमोजिम भन्सार एजेन्टको इजाजत लिन चाहने व्यक्तिले विभागको वेबसाइटमा गएर दरखास्त दिन सक्नेछन् । यसअघि दुई दशक अघि यस्तो लाइसेन्स दिइएको थियो ।

यो लाइसेन्सका लागि आवश्यक न्युनतम योग्यतामा २१ वर्ष पूरा भएको नेपाली नागरिक हुनुपर्ने उल्लेख गरिएको छ । मान्यताप्राप्त शिक्षण संस्थाबाट स्नातक वा सो सरह उत्तीर्ण गरी कम्प्युटर सम्बन्धी कम्तिमा तीन महिनाको आधारभूत तालिम लिएको हुनुपर्ने सूचनामा उल्लेख छ ।

नेपाल सरकारलाई तिर्न बुझाउन पर्ने रकम बाँकी नभएको हुनुपर्ने छ । कुनै फौजदारी अभियोगमा अदालतबाट कसूरदार प्रमाणित नभएको हुनुपर्ने छ । परीक्षाको किसिम लिखित र अन्तर्वार्ता हुने सार्वजनिक सूचनामा उल्लेख गरिएको छ ।

परीक्षा केन्द्र काठमाडौं उपत्यकाभित्र मात्रै हुनेछ । दरखास्त दस्तुर तीन हजार रुपैयाँ तोकिएको छ । दरखास्त वैशाख ५ गतेसम्म दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर वैशाख १२ गतेसम्म दरखास्त बुझाउनु पर्नेछ । उमेरहद २१ वर्ष पूरा भएको मात्रै उल्लेख गरिएको छ ।

दरखास्त दस्तुर राष्ट्रिय वाणिज्य बैंकको जुनसुकै शाखाबाट बुझाउन सकिनेछ । भन्सार एजेन्ट लाइसेन्स परीक्षा २०५६ सालदेखि रोकिएको थियो । विभागले कार्यविधि र पाठ्यक्रम तयार पारिसकेको छ । २० वर्षअघि चार सय भन्सार एजेन्टलाई लाइसेन्स दिइएको थियो । त्यो संख्या अहिले घटेर १७० जनामा सीमित छ ।

२० वर्ष बीचमा व्यापारको परिमाण तेब्बरले बढेको र एजेन्टको संख्या आधाभन्दा कम भएको छ । सरकारले व्यापारमा सहजीकरण गर्न थप भन्सार एजेन्टको आवश्यकता महसुस गरेर थप एजेन्टलाई लाइसेन्स दिने तयारी गरेको हो । सो बेला परीक्षाबिनै एजेन्ट लाइसेन्स दिइएको थियो । अहिले भने विभागले लोकसेवा आयोगमार्फत लिखित र मौखिक परीक्षा लिएर एजेन्ट लाइसेन्स दिने तयारी गरेको हो ।

परीक्षा सञ्चालन गर्न अर्थ मन्त्रालयल मार्फत लोकसेवा आयोगको सहयोग लिइनेछ । भन्सार एजेन्ट बन्न बीए वा सो सरहको शैक्षिक योग्यता आवश्यक हुन्छ भने साधारण कम्प्युटर चलाउन सक्ने हुनुपर्छ । तर, अनुभव आवश्यक छैन ।

२०६५ वैशाख १४ गतेसम्म कुनै भन्सार एजेन्टको प्रतिनिधि नियुक्त भई दुई वर्षदेखि भन्सार एजेन्टको प्रतिनिधिको रूपमा काम गरेको व्यक्तिलाई सम्बन्धित भन्सार कार्यालय प्रमुखले कार्यालयको अभिलेखको आधारमा सो बेहोरा प्रमाणित गरेमा त्यस्तो व्यक्तिलाई भन्सार एजेन्टको इजाजतपत्रका लागि दरखास्त दिन उपनियम उल्लेखित शैक्षिक योग्यता आवश्यक पर्दैन ।

यसअघि भन्सार एजेन्टको अनुमतिपत्र दिने परीक्षा सञ्चालन गर्न खोज्दा सर्वोच्च अदालतमा मुद्दा परेपछि परीक्षा रोकिएको थियो । अदालतले ऐनमा व्यवस्था गरेर मात्र परीक्षा लिनुपर्ने आदेश दिएको थियो । भन्सार विभागले ऐन परिमार्जन गरी परीक्षा लिन लागिएको जनाएको छ ।

भन्सार एजेन्टले आयात निर्यातमा व्यापारी र भन्सार कर्मचारीबीच पुलको काम गर्छन् । मालसामान आयात प्रक्रियामा व्यवसायीले एजेन्टलाई आफ्नो प्रतिनिधि नियुक्त गरेको हुन्छ । व्यवसायीले एजेन्टलाई दिएको कागजात बुझाएर एजेन्टले मालसामान जाँचपास गराइदिन्छन् र राजस्व बुझाएर गन्तव्यमा पठाइदिन्छन् ।

Top Changing Nepal

युट्युब सट्स