बागलुङका ३७ वडा पहिराको उच्च जोखिममा
बलेवा । बागलुङ जिल्लाको दशवटा स्थानीय तहका ८५ वडामध्ये ३७ वडा पहिराको उच्च जोखिममा र ३१ वडा मध्यम जोखिममा परेका छन् ।
मनसुनजन्य प्रकोपको स्तरीकरण गर्दा बागलुङ जिल्ला नै पहिराको उच्च जोखिममा पर्छ । जिल्ला विपद् व्यवस्थापन समितिले विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गर्ने सिलसिलामा प्रकोपको स्तरीकरण गर्दा बागलुङ पहिराको प्रकोपमा पहिलो नम्बरमा परेको हो ।
पहिराकै कारण हरेक वर्ष यहाँका नागरिकले ज्यान गुमाउनु परेको छ । जिल्लाका दस स्थानीय तहबाट सङ्कलन गरिएको तथ्याङ्क तथा जिल्ला प्रशासन कार्यालयमा प्राकृतिक प्रकोपका लागि वितरण गरिएको राहतको विवरणअनुसार पहिराको प्रकोपबाट अधिकांश स्थानीय तहका वडा समस्यामा परेको पाइन्छ । जिल्लाका कूल ८५ वडामध्ये पहिराको प्रकोपमा ३७ वटा वडा उच्च जोखिम, ३१ वडा मध्यम जोखिम र १७ वडा निम्न जोखिमको सूचीमा छन् । मनसुनजन्य आपत्कालीन कार्ययोजना–२०७९ मा उल्लेख भएअनुसार पालिकाका मुकाम रहेका वडाहरुसमेत पहिराको जोखिममा छन् ।
जोखिममा सामुदायिक विद्यालयसमेत समावेश छन् । यस वर्ष २० सामुदायिक विद्यालय भवनमा पहिराले असर पार्नसक्ने जिल्ला विपद् व्यवस्थापन समितिको अनुमान छ । सबै स्थानीय तहमा व्यवस्थापन पूर्वको तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले जानकारी दिए ।
मनसुन सक्रिय हुनुपहिले नै विपत् पूर्व, विपत् भएको समय र विपत्पश्चात् गर्नुपर्ने कामका बारेमा सरोकारवाला निकायसँग समन्वय र साङ्गठनिक जिम्मेवारी बाँडफाँड गरिएको उनले बताए ।
कालीगण्डकी, बडिगाड, दरमखोला, निसीखोला, भुजीखोला, तमानखोला, ठेउलेखोला, अँधेरीखोला, दरौँदीखोला, उत्तरगङ्गालगायत खोला तथा नदी किनारका बस्तीहरु बाढीको जोखिममा छन् । पहिरो प्रकोपका कारणले जिल्लाभर करिब ३० हजार व्यक्तिलाई असर पर्नसक्ने अनुमान गरिएको छ। पहिराको प्रकोपबाट घरगोठमा क्षति पुग्न सक्ने, बालबालिका, वृद्घावृद्घाहरु, गर्भवती, सुत्केरी, अपाङ्ग व्यक्ति, दलित र अति गरिबलाई बढी असर पर्ने विपत् प्र्रतिकार्य योजनामा उल्लेख छ ।
यहाँका सबै खोला किनारका तटीय क्षेत्रहरु जोखिममा छन् । कार्ययोजनाले उद्धार राहत तथा पुनःस्थापना र सचेतनाका लागि उपलब्ध साधन स्रोतको समेत तथ्याङ्क तयार गरेको छ । जिल्लाका अधिकांश बस्ती, सडक, भल तथा बाढीका कारण जोखिममा पर्ने स्थानीय तहको पूर्वानुमान छ । स्थानीय तहले गत वर्ष तयार गरेको बाढी पहिरो पीडितको तथ्याङ्क र यो वर्षको सम्भावित जोखिमको अवस्था हेरेर तथ्याङ्क तयार गरेकोे हो ।
सम्बन्धित समाचार
नेपालको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउँछौँ: प्रधानमन्त्री शाह
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
