पहिले फुटपाथ व्यापारी, अहिले ‘चेन होटल’का मालिक
काठमाडौं । ‘माग्ने बूढा’ भन्नेबित्तिकै माकल टोपी, थोते दाँत र झुक्रेझाम्रे आकृति आँखामा नाच्न थाल्छ । यो त भयो ‘मेरी बास्सै’को एक प्रमुख पात्र । यही ‘पात्र’ केदार घिमिरेमा ‘कन्भर्ट’ गर्ने हो अहिले हाम्रो अघिल्तिर ‘चेन होटल’का मालिक कुरा गरिरहेका छन् ।
२०५० सालमा मकवानपुर ठिंगनबाट काठमाडौं छिरेका ‘माग्ने बूढा’ अर्थात् केदार घिमिरेको सपना वकिल बन्न थियो । तर, कलाकार हुँदै अहिले उनी ‘ए वान होटल’ समूहका मालिकमध्ये एक बनेका छन् ।
कुनै ताका काठमाडौंमा फुटपाथ गरेका केदारले २१ वटा चेन क्याफे, पार्टी भेन्यु (ब्यांक्वेट) र होटलसहितको ‘ए वान क्याफे एन्ड पार्टी भेन्यु’ तथा ‘ए वान होटल’ समूहअन्तर्गत करोडौंको लगानीका ‘मालिक बनिएला’ भन्ने सायदै सोचेका थिए । अभिनयबाट फुर्सद हुँदा केदार होटल व्यवसायमै व्यस्त हुन्छन् ।
कानुन पढ्न काठमाडौं छिरेका उनले नेपाल ल क्याम्पसमा भर्ना हुन भने पाएनन् । ताहचल वारिपट्टीको काठमाडौं बहुमुखी क्याम्पसमा आईएल भर्ना हुन पुगेका केदार काठमाडौं आउने क्रममा गाउँको घरमा आलगानी भयो । सारा सम्पत्ति आगोसँगै नष्ट भयो । त्यसपछि सुरु हुन्छ, काठमाडौंमा संघर्षका दिनहरू ।
काठमाडौंमा दाइसँग बसेका केदार सुरुमा चाइनिज कन्ट्रक्सन कम्पनीमा ‘लेबर’ थिए । मेसिनबाट अलकत्रा (बिटुमिन) पोल्ने रात्रिकालीन काम पाएका थिए, उनले । ‘लेबरको केही कमाइबाट ऐना, काइँयो, क्रिम, जुत्ताको पलिस, ब्रस, नेलकटर, रुमाल, लिपिस्टिक, पर्स, मोजालगायत किन्थें,’ संघर्षका पल सम्झिन थाल्छन्, केदार, ‘विभिन्न कस्मेटिक सामग्री बेच्ने फुटपाथको पसल ललितपुर लगनखेल चोकमा सुरु गरें । रातभर काम गरेर बिहानै कलेज जान्थें र बिहान ९ः३० मा क्लास छुटेपछि महाबौद्धको होलसेलबाट साइकलमा सामान बोकेर लगनखेल पुग्थें ।’
उनको अनुपस्थितिमा बिहान १० बजेसम्म दाइ फुटपाथ पसल सम्हाल्थे । केदार थप सामान लिएर आएपछि उनका दाइ घरमा रङ लगाउने काम गर्न जान्थे । दिनभर फुटपाथ व्यापारमा रम्थे उनी । कोठामा नुहाउन र लुगा फेर्न मात्रै पुग्थे ।
‘साँझ पाँच बजेतिर फुटपाथ पसल बन्द गरेपछि १ घण्टा अंग्रेजी भाषाको कोचिङ लिन्थें, त्यसपछि दुई÷तीन घण्टासम्म ट्युसन पढाउन जान्थें,’ केदार सुनाउँछन्, ‘ट्युसन सकेपछि खाना खाएर फेरि रात्रिकालीन जागिर सुरु हुन्थ्यो । २४ घण्टे ड्युटी ६÷७ महिनासम्मै चल्यो ।’
बिहान कलेज, दिउँसो फुटपाथ व्यापार र रातभर लेबरको काम । २४ घण्टै कामको चापले केदार सुत्नै पाउँदैनथे । निन्द्रामा समस्या हुन थाल्यो । रातको मजदुरी छोड्न बाध्य भए । बिहानको कक्षा सकेर उनी दिनभर फुटपाथ व्यापार र ट्युसन पढाउनतिर व्यस्तिन थाले । व्यापारमा मसला ‘आइटम’ थपे । पहिलो दिन २ सय ५० रुपैयाँ कमाएका उनको आम्दानी ३ हजारसम्म पुग्यो ।
आम्दानी राम्रै हुँदै गर्दा नगरपालिकाले फुटपाथबाट व्यापार हटाउने घोषणा ग¥यो । केदारले दाइसँग मिलेर किस्तामा तीनवटा ‘डल्ले विक्रम टेम्पो’ किने । उनी फुटपाथ व्यापारीबाट टेम्पो व्यवसायी तथा सञ्चालक भए । व्यापारले यति गाँज्यो कि केदारले पढाइलाई समय नै दिन सकेनन् । आईएल दोस्रो वर्षको परीक्षामा उनी ‘फेल’ भए । वातावरण अत्यधिक प्रदूषण गरेको’ भन्दै सरकारले काठमाडौं उपत्यकाबाट विक्रम टेम्पो हटाउने घोषणा ग¥यो । त्यसपछि आधा घाटा खाएरै भए पनि उनी सबै टेम्पो बेच्न बाध्य भए ।
एकातिर पढाइ छाडिसकेका थिए भने कलाकारितामा लाग्ने ‘लक्षण’ नै थिएन । सटर भाडामा लिएर पसल चलाउँदा फुटपाथमा झैं लखेटिनुनपर्ने सोचेपछि केदारले कलंकी ढुंगेअड्डा मुख्य सडकछेउमै सटर लिएर व्यापार सुरु गरे । यतिबेलासम्म विवाह गरिसकेका केदार रेडियो, क्यासेट प्लेयरलगायत इलेक्ट्रिक सामग्री बेच्थे । व्यापार निकै फस्टायो ।
इलेक्ट्रिक पसल सञ्चालनकै क्रममा एचबीसी एफएमकी प्रस्तोता सुमित्रा खड्कासँग केदारको परिचय भयो । ७ कक्षादेखि नै कविता लेख्न थालेका केदारले सुमित्रामार्फत रेडियोमा कविता वाचन गर्ने अवसर पाए । एचबीसी एफएममै रेडियो नाटक, कविता र रेडियो नाटकसँगै हास्यव्यंग्य कार्यक्रम ‘काउसो’ चलाउने अवसर पाए, केदारले ।
उनले ‘काउसो’को हरेक शृंखलामा हास्य कलाकारका अन्तर्वार्ता लिन सुरु गरे । त्यस क्रममै केदारले सन्तोष पन्त, दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल, दमन रुपाखेतीलगायतसँग चिन्ने अवसर पाए ।
त्यतिबेला ‘हिजोआजको कुरा’ खुब लोकप्रिय थियो । लामो संघर्षपछि केदार ‘हिजो आजको कुरा’का लागि सनातिना भूमिकाका लागि छानिए । उनले त्यहीबेला महसुस गरे, ‘ठूलो भूमिकाका लागि अभिनय सिक्नुपर्ने रहेछ ।’
कमलादीस्थित नेपाल आर्ट तथा डान्स सेन्टरमा केही समय अभिनय सिकेका उनी ‘हिजो आजका कुरा’ हुँदै ‘जिरे खुर्सानी’ र ‘मेरी बास्सै’सम्म पुग्दा केदार सबैका ‘प्रिय’ भइसकेका थिए । फुटपाथबाट ‘करिअर’ थालेका केदारले पसलकै कमाइले ललितपुरमा जग्गा किने र घर बनाए । उनी पत्नीलाई पसल सुम्पेर कलाकार बन्न होमिएका थिए ।
सम्बन्धित समाचार
गुगल र मेटा पछि एप्पलले पनि अब स्मार्ट चश्मा ल्याउने
यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु सर्ज – पावरिङ अहेड टुगेदर’ पार्टनर्स मिट २०२६ मा सहभागी हुन पटाया, थाइल्यान्ड प्रस्थान
प्रभु बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला
पहिरो, बाढी र वर्षाका कारण देशभरका विभिन्न राजमार्ग अवरुद्ध
सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?
नेपाल र जापानबीच ४१० मिलियन जापानी येन बराबरको अनुदान सम्झौता
ट्रेन्डिङ
२०८३ साउन १२ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो
अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा
नारायणी अस्पताल घटनाको विरोधमा रौतहटमा पनि चिकित्सकको आन्दोलन
२०८३ साउन ११ गते सोमबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

