वि.सं. २०१६ मा त्रिभुवन विश्वविद्यालय स्थापना भएयता देशले विश्वविद्यालय सञ्चालन गरेको ६४ वर्षको अनुभव हासिल गरिसकेको छ तर अवस्था अधोगतितर्फ अघि बढी रहेको देखिन्छ । यसको प्रमुख कमजोरी भनेको कहिल्यै अनुभवबाट पाठ नसिक्नु वा नचाहनु पनि हो ।
यसैगरी आफूलाई प्राज्ञिक भन्ने जमातले शासकहरूलाई खुसी पार्न र उनीहरूले चाहेका कुरा गरेर आफूलाई सत्ता र शक्तिको केन्द्रमै राखिराख्ने चाहनाले पनि सुधारउन्मुख नभएको हो कि भन्ने लाग्छ ।
विश्वविद्यालयको पठन पाठन प्रणालीलाई शिक्षा दिने र लिने वस्तु बनाइएको छ । अर्थात् शिक्षा घोक्ने र परीक्षामा ओकल्ने, प्रमाणपत्र पाइने र सो प्रमाणपत्रलाई जागीर लगायत मान, सम्मान, इज्जत, बिहेबारी आदिका लागि भजाउन सकिने वस्तु सरह बनाइएको छ ।
अहिले कलेज जानुको मूल उद्देश्य ज्ञान होइन, प्रमाणपत्र आर्जन गर्नु बनेको छ । विद्यार्थीलाई ज्ञान, सीप, दृष्टिकोण दिने नभई प्रमाणपत्र कसरी आर्जन गर्न सकिन्छ भन्ने अवधारणा सिकाइने गरेको पाइन्छ ।
गुणस्तरिय शिक्षाको खोजी, व्यवसायीक शिक्षा, रोजगारी, विलासी जीवनको अभिलाशा, मनोरंजन, साथीभाईको प्रभाव लगायतको नाममा अवसरको खोजी गर्दै विदेश जाने विद्यार्थीहरुको संख्या ह्वात्तै बढ्दै गएको छ । जसको कारण एकातर्फ विदेशी मुद्राको संचिती घटेको छ भने अर्कोतर्फ बौद्धिकवर्गको पलायन दिन प्रतिदिन बढिरहेको देखिन्छ । यसर्थ उपरोक्त समस्याको समाधानको लागि देशको समग्र शैक्षिक प्रणाली र नीतिमा परिवर्तन गर्नु जरुरी बनिसकेको छ ।
आजको विश्वव्यापीकरणलाई अनुकरण गर्दै विश्वविद्यालयहरुले प्रविधिको उपलब्धता र प्रयोगमा ध्यान दिनु आवश्यक रहन्छ । अध्ययन र अध्यापनमा मोबाइल, कम्प्युटर र इन्टरनेटको अधिकतम उपयोग कसरी गर्ने भन्ने जस्ता विषयमा खास गरी हाम्रो जस्तो अविकसित राष्ट्रका विश्वविद्यालयहरूले सोच्नु आजको आवश्यकता बनिसकेको छ ।
विद्यार्थीलाई कसरी गहन अध्ययनतर्फ आकृष्ट गराउने भन्ने तर्फ विश्वविद्यालयले ध्यान दिनु जरुरी छ । अहिलेको समयमा पनि कक्षा कोठामा हुने हाजिरीका आधारमा मात्र विद्यार्थीको मूल्यांकन गरिरहनु उचित हुन्छ जस्तो लाग्दैन । यसतर्फ पनि सोच्नुपर्ने बेला भइसकेको छ । कक्षा १ देखि स्नाकोत्तर अध्ययन गर्दा समेत एउटै प्रश्नको उत्तर लेख्नुपर्ने जुन अवस्था छ त्यसलाई परिवर्तन गर्नु जरुरी भइसकेको छ ।
राणाशासन, प्रजातन्त्र, राजाको प्रत्येक्ष शासन, पच्चायत र मुलुकमा गणतन्त्रको युग सुरु भइसक्र्दा समेत अहिले पनि हामी राणाशासन जसरी एउटै कोठा भित्र बसेर एउटै प्रश्नपत्रको उत्तर दिइरहेका छौं । यसलाई कसरी सुधार गर्ने रु भन्ने विषयमा समेत विश्वविद्यालयले ध्यान दिनु जरुरी भइसकेको छ ।
हाम्रो समाजमा पढ्यौं पढ्यो खाडी लाग्यो भन्ने भास्य पनि बन्ने अवस्था छ तर सम्बन्धित निकाय तहि चुप मै चुप भन्ने अवस्थामा छन् । प्रमाणपत्रले यहाँ काम पाउन मुस्किल छ, जसका लागि पहुँच, पाओर र पैसाको आवश्यकत्ता बनेको छ । देशमै केहि गरौं भन्नेका लागि स्वर्ग हुनुपर्नेमा समर्थन पाउनै मुस्किल छ ।
विश्वविद्यालय देशलाई चाहिने उच्च स्तरको जनशक्ति उत्पादन गर्ने थलो भएकाले यसमा अध्यापन गर्ने शिक्षकहरू पनि उच्च स्तरका विज्ञ हुनु आवश्यक छ, जो निरन्तर अध्ययन र शोधका माध्यमबाट देशमा देखिएका समस्या निराकरणका विषयमा सल्लाह, सुझाव दिन सक्ने हैसियतको हुनु आवश्यक छ ।
अब ३ वा ४ घन्टाको परीक्षाले दक्ष जनशक्ति उत्पादन गर्न सकिँदैन । समृद्ध देश बनाउने हो भने अध्ययन, अनुसन्धानमा जोड दिइनुपर्छ । विद्यार्थीलाई कक्षा कोठामा राखेर पढाउने, पाठ कण्ठ गराउने, नोट लेखाउने परम्पराको अन्त्य हुनुपर्छ । विद्यार्थीलाई समूहमा छलफल गराउने, एकअर्कामा कुरा सेयर गर्न लगाउने र अन्वेषणमा प्रेरित गर्नुपर्छ।
शिक्षा कस्तो हुनुपर्छ ?
शिक्षा प्राप्त गर्नुको अर्थ प्रमाणपत्र बटुल्नु मात्र होइन, शिक्षित हुनु पनि हो । संसारमा जिउनका लागि निकै प्रतिस्पर्धा र सङ्घर्ष गर्नुपर्छ, त्यसको सामना गर्न शिक्षाले हामीलाई मद्दत गरेको हुनुपर्छ । जीवनमा आइपर्ने हरेक समस्याको समाधान गर्न हामीलाई हाम्रो शिक्षाले सघाउँछ । कुनै किसिमको भय र दबावबाट शिक्षाले हामीलाई मुक्त गर्न सक्नुपर्छ ।
अनुकरण वा नक्कल गरेर हामी अरूजस्तो बन्ने होइन आफैजस्तो हुनुपर्छ र जीवनमा अर्काको अनुसरण गर्नै नपरोस् भनेर सतर्क गराउन पनि हामीलाई शिक्षाले नै बाटो देखाउन सक्नुपर्छ । हामीले कक्षामा प्रथम हुने विद्यार्थीसँग अन्य विद्यार्थीको तुलना गर्छौं र सबै विद्यार्थीलाई त्यस्तै बन्नुपर्छ भन्ने निर्देशन दिन्छौँ, जुन अनुचित छ ।
आफूले आफ्नो तुलना अरूसँग गर्नु वा अरूले कसैको आफूसँग तुलना गरिदिनु भनेको वास्तवमा आफ्नो अस्तित्व माथि नै प्रश्नचिह्न खडा गर्नु जस्तै हो । एकले अर्काको तुलना गर्दा हाम्रै प्रतिभा र चेतनामा समेत क्रमशः ह्रास आउँछ ।


