Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

आज नवरात्रको पहिलो दिन घटस्थापना, कसरी मनाउने ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, आश्विन, २८
आज नवरात्रको पहिलो दिन घटस्थापना, कसरी मनाउने ?

काठमाडौं । नेपालीहरुको मूल पर्व विजयादशमीको पहिलो दिन घटस्थापना आज घर घरमा जमरा राख्ने तथा घटको स्थापना गरेर मनाईंदैछ । सुख समृद्धि र ऐश्वर्यको प्रतीक मानिने कलश स्थापना गर्ने दिन नवरात्रको पहिलो दिन अर्थात् घटस्थापना हो ।

घटलाई सुख समृद्धि र ऐश्वर्य दायक तथा मंगलकारी मान्ने गरिएको छ । यसरी स्थापना गर्ने घटको मुखमा भगवान विष्णु, गलामा रुद्र एवम् महादेव, मूलमा ब्रह्मा तथा मध्यमा देवी शक्तिको निवास मानेर सोही अनुसार पूजा गर्ने गरिन्छ।

नवरात्रिको समयमा ब्रह्माण्डमा उपस्थित शक्तिहरुको घटमा आह्वान गरेर उनीहरुलाई कार्यरत गर्ने गरिएको छ । यो घटको पूजा गर्नुले घरको सबै विपददायक तरंगहरु नष्ट भएर सुख शान्ति र समृद्धि आउने धार्मिक विश्वास रहेको छ ।

घटस्थापना गरिसकेपछि कलशको मध्यमा स्थापित नवदूर्गामध्येकी पहिलो देवी शैलपुत्रीको पूजा गर्ने गरिन्छ । शैलपुत्री हिमालयकी पुत्री पार्वतीको अर्को नाम हो । वृषभ वाहन भएको कारणले नै यी देवीलाई वृषरुढा नामले समेत चिन्ने गरिएको छ । शैलपुत्री दूर्गाको पहिलो रुप भएकोले पनि नवरात्रमा उनको पहिलो दिन घटस्थापनलगत्तै पूजा गर्ने गरिन्छ ।

घटस्थापनाको पूजा विधि
घटस्थापनाको दिन झिसमिसे बिहानी मै आत्मशुद्धि पश्चात् नदी, खोला, बगर वा आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा अथवा माटो ल्याई पूजाकोठामा विधिपूर्वक जमरा राख्ने गरिन्छ ।

वैदिक विधिद्वारा हुने पूजामा जौलाई अनिवार्य अन्नको रुपमा मान्ने गरिएको छ । जमरा राखिएको पात्रमा गहुँ तथा जौको अंकुरणसँगै घरमा सुख, शान्ति, समृद्धि र स्वास्थ्य लाभ हुने शास्त्रीय मान्यता छ । आयुर्वेद शास्त्र अनुसार जौको जमरालाई महाऔषधि मानिएको छ ।

यसरी जमरा राखिएको स्थान नजिकै पूर्णजल युक्त घडा (कलश)को वरिपरि नौवटा देवीको स्वरूपको प्रतिमूर्ति स्थापना गर्ने गरिन्छ । जसमा नवरात्र भरी नै पूजाआजा गर्ने गरिन्छ । त्यसपछि पूर्ण जलयुक्त कलशमा पञ्चपल्लव चढाई अनन्त शक्तिस्वरूपा महाकाली (संहार), महालक्ष्मी (सुरक्षा) र महासरस्वती (सृष्टि) को पञ्चोपचारले पूजा आजा गरिन्छ।

हाम्रो धार्मिक मान्यता अनुसार कलशमै सम्पूर्ण देवी देवता, सागर, सप्तद्वीप, सम्पूर्ण नदी एवम् तीर्थहरू निहित हुन्छन् । यसका अतिरिक्त कलशमा अष्टमङ्गलका शुभ चिन्हहरूद्वारा पूजित भएको पाइन्छ । घट कलश स्थापना गरी त्यसमै सम्पूर्ण देवीदेवता, तीर्थ, नदीनाला, सप्तसागर, सप्तद्वीप आदि सबैलाई समाहित गरी दशैं पूजाको थालनी गरिएको हो ।

यसरी राखिएको जमरामा हरेक दिन विहान पहिले आफू शुद्ध भएर जमरामा पानी राख्ने गरिन्छ । कलश स्थापित गर्ने ठाउँ मुनी विधिपूर्वक स्वस्तिक चिह्न बनाएर कलश स्थापना गरिन्छ । साथमा घटस्थापना गरेर कलशमा सुपारी फलफूल, दुबो आदि राख्ने गरिन्छ ।

कलशमा पञ्चरत्न र सिक्काहरु सहित पाँच प्रकारको पत्ताहरु समेत राख्ने गरिन्छ । यसरी राखिएको पातहरु केही बाहिर निस्किएको आकारमा हुनु पर्दछ भने बाहिर निस्किएको पातले कलशलाई छोपेको हुनु पर्दछ ।

यसरी कलशमाथि अक्षताबाट अष्टदल बनाएर त्यसमुनी पानीले भरेको कलश राख्ने गरिन्छ । त्यसमा आँप पिपलको पात राखेर दीप प्रज्वलित गर्दै ईष्टदेवको ध्यान गर्नुपर्दछ । त्यसपछि पहिलो दिन देवी शैलपुत्रीको मन्त्रद्वारा जप गर्ने गरिन्छ ।

यसरी कलशलाई छोपिएको पातको बिर्कोलाई अक्षता अर्थात् चामलले भरिदिने गरिन्छ । त्यसमा एउटा रातो कपडाले बेरिएको नरिवल राखिन्छ । यसरी राखिएको नरिवलको मुख अर्थात् भेट्नाको भाग पूजा गर्ने व्यक्तिको तर्फ भएमा शत्रु बढ्छ भन्ने मान्यता छ ।

त्यो मुख पूर्वतर्फ भयो भने धन नष्ट हुन्छ भन्ने विश्वास छ । त्यसपछि एकपटक सम्पूर्ण देवी देवतालाई विशेष मन्त्रहरुद्वारा आह्वान गर्ने गरिन्छ । यसरी कलशको सामु गहुँ र जौको माटोको पात्रमा रोप्ने गरिन्छ । सोही अंकुरित जौलाई पनि नवदूर्गाको स्वरुप मानेर पूजा गर्ने गरिन्छ ।

हरेक दिन यसरी गरिने जौयुक्त पात्रलाई घामले नदेख्ने ठाउँमा राख्ने गरिन्छ । घाम नदेखिएको यो जमरा विजयादशमीको दिन रातो टीकासँग मिसाएर लगाउने गरिन्छ भने टीकाको पाँचौं दिन पूर्णिमाको दिन यसको विसर्जन गर्ने गरिन्छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स