मधुमेह के हो ? भयो भने कस्तो समस्या निम्तिन सक्छ ?
मधुमेह एउटा गम्भीर स्वास्थ्य समस्या हो जसका कारण प्रत्येक वर्ष १० लाखभन्दा बढी मानिसको ज्यान जाने गर्छ। जोसुकैलाई पनि मधुमेह लाग्न सक्छ । यसलाई चिकित्सकीय भाषामा ‘डाइअबीटीज’ भनिन्छ । रगतमा चिनीको मात्रा बढी हुने भएकाले यसलाई ‘सुगर’ वा ‘चिनी रोग’ पनि भन्ने गरिएको छ ।
शरीरले रगतमा भएको सबै चिनी (ग्लुकोज) प्रशोधन गर्न नसक्दा मानिसमा हृदयाघात, मस्तिष्काघात र अन्धोपन हुन सक्छ अनि मिर्गौलाले काम गर्न छाड्ने अवस्था पनि निम्तिन सक्छ । मधुमेहको समस्या विश्वभरि निरन्तर बढिरहेको छ । विश्वभरि अनुमानित ४२ करोड मानिस मधुमेहबाट पीडित छन् ।
अहिलेको सङ्ख्या ४० वर्षअघिको भन्दा चार गुना बढी भएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । जोखिम भए पनि मधुमेह भएका आधाभन्दा धेरै मानिसहरूलाई यो रोगबारे थाहा नै छैन । तर, जीवनशैली परिवर्तन गर्दा धेरैमा यो जोखिम नियन्त्रण गर्न सकिन्छ ।
मधुमेह कसरी हुन्छ ?
खाना खाएपछि हाम्रो शरीरले कार्बोहाइड्रेटलाई टुक्र्याएर ग्लुकोज बनाउँछ । पेटनजिकै अवस्थित प्यान्क्रिअस अर्थात् अग्न्याशय भनिने एउटा ग्रन्थिले इन्सुलिन नामक होर्मन उत्पादन गर्छ जसले हाम्रो शरीरलाई त्यो ग्लुकोजलाई सोसेर पोषण बनाउन निर्देशन दिन्छ । तर इन्सुलिनले राम्ररी काम नगरे वा त्यसको उत्पादन नभए रगतमा चिनी जम्मा हुन थाल्छ । त्यस्तो अवस्थालाई मधुमेह अर्थात् डाइअबीटीज भनिन्छ ।
मधुमेह कति प्रकारका छन् ?
मधुमेह कैयौँ प्रकारका छन् । टाइप वन डाइअबीटीज भनिने मधुमेहमा प्यान्क्रिअसले इन्सुलिन उत्पादन गर्न बन्द गर्छ । त्यही भएर ग्लुकोज रगतमा जम्मा भएर बस्छ । किन यस्तो हुन्छ भन्ने वैज्ञानिकहरूलाई स्पष्ट कारण थाहा छैन । तर उनीहरू अनुवंश वा भाइरल सङ्क्रमणका कारण प्यान्क्रिअसबाट इन्सुलिन उत्पादन हुने कोशिकाहरू नष्ट भएको हुनसक्ने ठान्छन् ।
मधुमेह भएका झन्डै १० प्रतिशत मानिसहरू टाइप वन मधुमेहबाट पीडित छन् । टाइप टू डाइअबिटिज हुँदा प्यान्क्रिअस ग्रन्थिले पर्याप्त इन्सुलिन उत्पादन गर्दैन र होर्मनले पनि राम्रोसँग काम गर्दैन । यो समस्या अधिकांश अधबैँसे उमेरका मानिस र वृद्धवृद्धालाई हुन्छ । किशोरावस्थामा पनि बढी तौल भएका र निष्क्रिय व्यक्तिमा तथा निश्चित समुदायका व्यक्तिहरू विशेषतः दक्षिण एशियाली समुदायमा यस्तो समस्या देखिएको छ ।
कतिपय गर्भवती महिलाहरूमा पनि मधुमेह देखा पर्न सक्छ । त्यस बेला उनीहरूको शरीरले आफू र बच्चाका लागि चाहिने पर्याप्त इन्सुलिन उत्पादन गर्न सक्दैन । विभिन्न अध्ययनहरूले फरकफरक मापदण्ड प्रयोग गरेर ६ देखि १६ प्रतिशत गर्भवती महिलामा ‘जेस्टेशनल डाइअबीटीज’ देखा पर्ने गरेको जनाएका छन् ।
त्यस्तो अवस्था सिर्जना भएका महिलाहरूले चिनीको मात्रालाई आहारा, शारीरिक गतिविधि वा इन्सुलिनको प्रयोग गरेर टाइप टू मधुमेह हुनबाट रोक्नुपर्छ । मानिसहरूमा मधुमेह हुनुअघिका समस्याहरू पनि देखा पर्न सक्छन् । त्यति बेला ग्लुकोजको मात्रा बढी हुने गर्छ र त्यसले पनि मधुमेह गराउन सक्छ ।
मधुमेहका लक्षणहरू के हुन् ?
एकदमै तिर्खा लाग्ने
नियमितभन्दा धेरै पिसाब लाग्ने, विशेष गरेर रातको समयमा
एकदमै गलेको महसुस हुने
प्रयास नगरीकनै तौल घट्ने
मुख र घाँटीभित्र बारम्बार घाउ भइरहने
धमिलो देखिने
चोट र घाउ निको नहुने
ब्रिटिश न्याश्नल हेल्थ सर्भिसका अनुसार टाइप वन मधुमेहको लक्षण उमेर सानै हुँदा वा किशोरावस्थामै पनि देखा पर्न थाल्छ र यो अझ गम्भीर हुन पुग्छ । टाइप टू मधुमेहको जोखिम भने ४० वर्षभन्दा माथिको उमेरका (दक्षिण एशियाको हकमा २५ वर्षमाथिको उमेरमाथिका) व्यक्तिमा हुन्छ । आमाबुवा वा दाजुबहिनीमा मधुमेह भएका, बढी तौल भएका र दक्षिण एशियाली, एफ्रो-क्यारिबिअन वा ब्ल्याक अफ्रिकन समुदायका मानिसमा यस्तो समस्या हुन्छ ।
के मधुमेह रोक्न सकिन्छ ?
मधुमेह आनुवंशिक वा पर्यावरणीञ कारणहरूमा निर्भर रहन्छ । तर तपाईँले रगतमा चिनीको मात्रालाई नियन्त्रणमा राख्न सक्नुहुन्छ । त्यसका लागि खानेकुरा स्वास्थ्यकर र जीवनशैली सक्रिय हुनुपर्छ । चिनी भएका प्रशोधित खानेकुरा र पेयपदार्थ सेवन नगर्नु तथा र पाउरोटी अनि पास्ताको साटो परम्परागत पिठोबाट बनाइएका परिकार उपभोग गर्नु त्यस दिशातिर पहिलो पाइला हो ।
रेसा र बढी भिटामिन भएका भाग हटाइने हुनाले प्रशोधित चिनी र प्रशोधित अन्नमा पोषक तत्त्व निकै कम हुन्छ । जस्तै – आँटा, सेतो पाउरोटी, सेतो चामल, सेतो पास्ता, पेस्ट्रीहरू, गुलियो पेयपदार्थ, मिठाई र बिहानीपख खानामा खाइने चिनी मिश्रित सिरिअल हुन् ।
राम्रो खानामा तरकारी, फलफूल, गेडागुडी र सग्लो अन्न पर्छन् । तेल, बियाँ भएका फल र ओमेगा(थ्री धेरै भएका माछाहरू जस्तै सार्डिन, स्यामन र म्याक्रल माछा पनि यही श्रेणीमा पर्छन् । यी खानेकुरा नियमित अवधिमा खानु र पेट भरिएपछि खान छाड्नु एकदमै महत्त्वपूर्ण हुन्छ ।
शारीरिक व्यायामले पनि हाम्रो रगतमा गुलियोको मात्रा कम गर्न सघाउँछ । ब्रिटेनको न्याश्नल हेल्थ सिस्टम (एनएचएस) ले प्रत्येक साता अढाई घण्टा एरोबिक व्यायाम गर्न सुझाव दिएको छ । त्यसमा चाँडोचाँडो हिँड्नु र सिँढी चढ्नु पनि पर्छन् । शरीरको तौल ख्याल गर्दा त्यसले रगतमा गुलियोको मात्रा सन्तुलनमा राख्न सघाउँछ ।
यदि तपाईँ तौल घटाउन चाहनुहुन्छ भने बिस्तारै गर्ने प्रयास गर्नुहोस् । त्यो भनेको एक सातामा आधादेखि एक केजी घटाउनुहोस् भन्ने हो । धूमपान नगर्नु र आफ्नो कोलस्ट्रोलको तहलाई निगरानी गर्दा मुटुसम्बन्धी रोगको जोखिम कम गर्न सकिन्छ ।
मधुमेह भयो भने कस्तो समस्या निम्तिन सक्छ ?
रगतमा चिनीको मात्रा उच्च हुँदा रक्तनलीमा गम्भीर रूपमा क्षति पुग्न सक्छ । यदि तपाईँको शरीरमा रगत राम्रोसँग प्रवाह हुन सकेन भने त्यसबाट सबै अङ्गप्रत्यङ्गमा रगत पुग्न सक्दैन । अनि रगत पुग्न नसक्दा अक्सिजनको आपूर्ति अवरुद्ध हुन्छ र त्यसबाट स्नायुप्रणालीमा क्षति हुने जोखिम बढ्छ ।
त्यसले कुनै कुरा महसुस गर्ने र देख्ने क्षमता नै गुम्न सक्ने अनि पैतालामा सङ्क्रमण पनि हुन सक्छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का अनुसार विश्वमा अहिले अन्धोपन, मिर्गौलाले काम नगर्ने, हृदयाघात, पक्षाघात र शरीरको तल्लो भाग काट्नुपर्ने जस्ता समस्याको प्रमुख कारण मधुमेह देखिएको छ । सन् २०१६ मा अनुमानित १६ लाख जनाको मृत्यु प्रत्यक्ष रूपमा मधुमेहका कारण भएको थियो ।
कति मानिसलाई मधुमेह छ ?
डब्ल्यूएचओका अनुसार मधुमेह भएका मानिसको सङ्ख्या सन् १९८० मा १०.०८ करोड थियो । सन् २०१४ मा त्यो बढेर ४२.२० करोड पुगेको छ । सन् १९८० मा विश्वभरि १८ वर्षमाथिका वयस्कमध्ये ५ प्रतिशतभन्दा कमलाई मधुमेहको समस्या थियो । तर सन् २०१४ त्यो दर ८.५ प्रतिशत पुग्यो ।
इन्टरन्याश्नल डाइअबीटीज फेडेरेशनले यो समस्या भएका झन्डै ८० प्रतिशत वयस्कहरू मध्यम तथा न्यून आय भएका देशहरूमा बस्ने गरेको र त्यहाँको आहारविहारको शैलीमा तीव्र रूपमा परिवर्तन भइरहेको जनाएको छ । विकसित देशमा मधुमेहलाई गरिबी र सस्तो मूल्यमा पाइने प्रशोधित खानाको सेवनसँग जोडेर हेर्ने गरिएको छ ।
सम्बन्धित समाचार
नेपालमा पहिलो राष्ट्रिय अटिजम समिट सम्पन्न, अटिजम समावेशीकरण सम्बन्धी काठमाडौं घोषणापत्र २०२६ मा हस्ताक्षर
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
