महोत्तरी । महोत्तरी लगायत तराई मधेसका क्षेत्रमा पाँच दिनदेखि निरन्तर चलिरहेको चिसो हावा र शीतलहरका कारण जनजीवन प्रभावित भएको छ । कठ्याग्रिँदो हावा, शीतलहर, हुस्सु र बाक्लो कुहिरोले दैनिक जीवन मात्र होइन, पशुचौपाया र बालीनालीमा पनि नकारात्मक प्रभाव पारेको छ ।
चिसोका कारण सदरमुकाम जलेश्वर लगायतका क्षेत्रहरूमा जनताको चहलपहल घटेको छ भने बाक्लो कुहिरोका कारण यातायातमा पनि कमी आएको छ । यसैबीच, चिसोका कारण बजार क्षेत्रमा कपडाको बिक्री बढेको छ तर हाटबजारमा चहलपहल घटेको छ । चियाको व्यापारमा भने वृद्धि भएको छ ।
जिल्लाका स्वास्थ्य केन्द्र र अस्पतालहरूमा चिसोका कारण बिरामीहरूको संख्या बढिरहेको चिकित्सकहरूले बताएका छन् । चिसोबाट विशेष गरी बालबालिका, वृद्धवृद्धा र सुत्केरी प्रभावित भएका छन् । उनीहरूमा रुघाखोकी, ज्वरो, दम र अंग सुनिने समस्या देखिएको छ ।
ग्रामीण भेगमा बस्तुभाउलाई पनि चिसोले समस्या पुर्याएको छ । चिसोबाट जोगिन स्थानीयहरू ठाउँठाउँमा आगो बालेर तापिरहेका छन् । चिसो हावाका कारण दैनिक जीवन थप कष्टकर बन्दै गएको छ भने यसबाट बच्न सबैलाई सावधानी अपनाउन सुझाव दिइएको छ ।





