काठमाडौं । चेन्ज डिजिटल प्रा.लि.ले एयरचार्ज इभि चार्जिङ स्टेशन नेटवर्कको भव्य शुभारम्भ गरेको छ, जुन सेप्टेम्बर २०२५ देखि नेपालभर आधिकारिक रूपमा उपलब्ध भएको छ। “E^3: Empowering Electric Ecosystem” को भिजनका साथ, एयरचार्ज इभिले स्मार्ट, सजिलो र ग्राहकमुखी चार्जिङ सुविधाहरु प्रदान गर्दै नेपालमा विद्युतीय सवारीसाधनको प्रयोगलाई तीव्रता दिँदै आएको बताइएको छ।
AirCharge को शुभारम्भ कार्यक्रम काठमाडौंको समाखुसी स्टेशनमा सम्पन्न भयो, जसको उद्घाटन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री श्री कुलमान घिसिङले गरे। उपस्थितहरूलाई सम्बोधन गर्दै मन्त्री घिसिङले भने , “मेरो सपना नेपाललाई विद्युतीय बनाउनु र ऊर्जा क्षेत्रमा रोजगारका अवसरहरू सिर्जना गर्नु हो।” उहाँले वर्तमान EV चार्जिङ पूर्वाधारको आवश्यक प्रवर्द्धन र थप स्टेशनहरू स्थापना गर्नुपर्नेमा जोड दिँदै विभिन्न कार्यक्रम र योजनाहरू बनाइएको जानकारी दिए । AirCharge जस्ता परियोजनाहरू विद्युतीकरणको यात्रामा महत्वपूर्ण पाइला भएको र यसले नेपाललाई दिगो र समृद्ध भविष्यतर्फ अघि बढाइरहेको उनले उल्लेख गरे।
प्रारम्भिक पूर्वाधार योजनाको महत्वलाई मध्यनजर गर्दै नेपाल सरकारले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (AEPC) मार्फत यस पहललाई सक्रिय रूपमा अगाडि बढाएको छ। उद्घाटन कार्यक्रममा AEPC का कार्यकारी निर्देशक नवराज ढकालले AEPC का प्रयासहरूले सहज सहकार्य र निजी क्षेत्रको लगानी प्रवर्द्धन गर्न योगदान पुर्याएको बताए। उनले यी पहलहरू राष्ट्रिय लक्ष्य र नेपालको सन् २०४५ सम्म NET – ZERO उत्सर्जनको अन्तर्राष्ट्रिय प्रतिबद्धतासँग मेल खाने स्पष्ट पारे। AEPC ले UKAID र EU/GIZको अनुदान सहयोगमा स्थायी ऊर्जा चुनौती कोष (SECF) तथा केन्द्रीय नवीकरणीय ऊर्जा कोष (CREF) अन्तर्गत यी EV चार्जिङ स्टेशनहरूलाई भायबिलिटी गैप फण्डिङ (VGF) पनि प्रदान गरेको बताइएको छ।
यस पहललाई सिटिजन इन्टरनेशनल बैंकले बैंकिङ साझेदारका रूपमा समर्थन गरेको छ, जसले AirCharge जस्ता परियोजनाहरूको सम्भाव्यता र सम्भावनालाई मूल्याङ्कन गर्दै नेपालको EV चार्जिङको वित्तीय आधारलाई थप मजबुत बनाएको छ।
वर्तमानमा AirCharge स्टेशनहरू उच्च आवागमन हुने र रणनीतिक स्थानहरूमा सञ्चालनमा छन्, जस्तै: अत्तरिया, चितवन, नुवाकोट, पोखरा, मलेखु, सिन्धुली, बर्दिवास, ईटहरी, काठमाडौंको समाखुसी, भक्तपुरको सल्लाघारी, ललितपुरको सातदोबाटो र दमक। प्रत्येक स्टेशनमा १० चार्जिङ गनहरू रहेका छन् जसले GBT र CCS2 दुवै मापदण्डलाई समर्थन गर्छन्। हाल यी स्टेशनहरूले ४०० किलोवाटसम्म ऊर्जा उपलब्ध गराउँछन् र भविष्यमा ८०० किलोवाटसम्म अपग्रेड गर्ने योजना छ। GBT र CCS2 गनहरूले अधिकतम २५० किलोवाट चार्जिङ क्षमता दिन्छन्, जसले आवश्यकताको आधारमा EV प्रयोगकर्ताहरूलाई DC स्मार्ट स्प्लिट चार्जिङ प्रविधिबाट छिटो र निर्बाध चार्जिङ सुनिश्चित गर्दछ।






